दुई तिहाईको बलमा सरकार स्वेच्छाचारिता तर्फ उन्मुख ः नेता पौडेल

धनकुटा मंसिर ४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट नेतृत्वको सरकार स्वेच्छाचारिता तर्फ उन्मुख रहेको बताए । उनले सो कुरा प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् । नेता पौडेलले सरकारले विना कारण प्रदेश प्रमुख हटाएको भन्दै प्रदेश प्रमुख हटाएर सरकार दुईतिहाईको वलमा स्वेच्छाचारिता तर्फ उन्मुख भएको बताए । उनले सरकार निरंकुश नहोस् भनेर संविधानमै सभामुख र उपसभामुख एउटै दलको नहुने व्यवस्था गरेको बताए । उनले यस्तो व्यवस्थाका बाबजुद दुई कम्युनिष्ट पार्टीवीच एकता भई नेपाल कम्युनिष्ट पार्टी भएपनि संविधान मिचेको बताउँदै अब त्यस्तो हुन नदिने बताए ।

अर्को प्रसंगमा नेता पौडेलले राज्य सञ्चालनमा पनि सरकार असफल भइसकेको बताए । कम्युनिस्ट पार्टीको स्थायी सरकार गठन भएपनि जनचाहनाअनुरुप काम हुन नसकेको बताए । उनले सरकारले विकास निर्माणमा भन्दा गफ गर्न समय खर्चेको आरोप लगाए । उनले सरकारलाई विदेशीले नपत्याएको बताउँदै कुनैपनि ठूला लगानी नआएको बताए । उनले सरकारले हावादारी कुरा गरेर समृद्धीको यात्रामा ध्यान नदिएको आरोप लगाए ।
वरिष्ठ नेता पौडेलले यो सरकारले विगतका सरकारले निर्माण गरेका विकास निर्माणका कामको उद्घाटन गरेर आफुले गरेको भ्रम फैलाएको आरोप लगाए । उनले यो सरकारले सम्पन्न हुन नसक्ने कामको मात्र शिलान्यास गर्दै आएको तर, कुनै नयाँ योजनाको शिलान्यास गर्न नसकेको आरोप लगाए ।

यस्तै नेता पौडेलले सरकार सुशासनको कुरा गरेपनि भ्रष्टाचार, स्वेच्छाचारिता झन बढेको आरोप लगाए । उनले यस्तो प्रबृत्तिले मुलुक समृद्धीको यात्रा तय गर्न नसक्ने बताए ।
नेता पौडेलले कम्युनिष्टको बहुमतको सरकारले कुराबाहेक कुनै राम्रा काम गर्न नसकेकाले उहि मंसिर १४ गते हुने उपनिर्वाचनमा कांग्रेसलाई मतदान गर्ने बताए । उनले जनताले कम्युनिष्ट पार्टीको सरकारको काम हेरिसकेको बताउँदै देशमा कांग्रेस र कम्युनिष्ट मात्र ठूला दल भएकोले कम्युनिष्टको विकल्पमा कांग्रेसलाई विश्वास गर्ने बताए ।

कांग्रेसका सांसद आलम र महराको विषयमा नेता पौडेलले कांग्रेस कानूनी शासनका पक्षधर भएको बताउँदै सम्मानित अदालतले गर्ने निर्णय कांग्रेसले स्वीकार्ने बताए ।

युनियनका अध्यक्ष हिमा चेम्जोङ्गको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन सचिव विकास घिमिरेले गरेको थिए । सो पत्रकार सम्मेलनमा युनियनका केन्द्रिय उपसभापति विजयसन्तोषी राईले स्वागत मन्तव्य राखेका थिए ।