धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

धनकुटा । धनकुटा नगरपालिकाले एभोकाडोको राजधानी घोषणा गरेको धनकुटामा विश्वको दोस्रो तथा एसियाको पहिलो एभोकाडो महोत्सव हुने भएको छ ।

नगरपालिकाले यहि मंसिर ८ गते शनिवारका दिन महोत्सवको आयोजना गर्ने जनाएको हो । धनकुटामा ५ महिना अघिदेखि एभोकाडो महोत्सव गर्ने सोंच भएपनि दुई महिना अघिमात्र अमेरिकाको क्यालिफोर्नियामा विश्वको पहिलो महोत्सव भएको थियो ।

मेयर कृषि कार्यक्रम अन्तर्गत धनकुटा नगरपालिकालाई एभोकाडोको राजधानी घोषणा गरी एभोकाडो खेतीमार्फत कृषि पर्यटनलाई प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकादत्त राईले जानकारी दिए । महोत्सवमा नगरपालिकामा हालसम्म जानकारी भएका २० वटा संस्थाका स्टल रहने नगरपालिकाले जनाएको छ । महोत्सवमा अन्य निजी तथा विभिन्न परिकारका स्टल रहने जानकारी दिए ।

धनकुटा नगरपालिका क्षेत्रमा उत्पादन हुने एभोकाडो अन्य क्षेत्रभन्दा स्वादिलो रहेको मानिन्छ । यहाँको सुन्तलापछि स्वादिलो एभोकाडोलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनु तथा एभोकाडोको व्यावसायिक खेतीतर्फ कृषकहरुलाई आकर्षित तथा प्रोत्साहित गर्नु महोत्सकको उद्देश्य रहेको अधिकृत राईले जानकारी दिए ।

महोत्सवमा एभोकाडोको फाइदा बारेमा उपभोक्तालाई जानकारी दिइने छ । अहिले हरेक चीजमा विषादी प्रयोग भैरहेको अवस्था छ । तर, एभोकाडोमा कुनै पनि विषादी प्रयोग नहुनाले स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

घिउफल भनेर समेत चिनिने एभोकाडोको अहिले धनकुटा नगरक्षेत्रमा मात्रै २५ हजार विरुवा रहेको नगरपालिकाले जनाएको छ । जसमध्ये करिब १० हजार विरुवा फल दिने भएका छन् । धनकुटामा हाल वार्षिक करिव २ लाख किलोग्राम एभोकाडो उत्पादन हुने गरेको पाईन्छ । धनकुटा नगरपालिकाले एभोकाडो खेति गर्नेलाई टोकन वितरण गरेको छ।

महोत्सवमा प्रदर्शनमा राखिएका एभोकाडोमध्येबाट उत्कृष्ट एभोकाडो कृषकलाई नगरपालिकाले पुरस्कृत समेत गर्ने छ । नगरपालिकाकी उपप्रमुख शकुन्तला बस्नेतको संयोजकत्वमा बनेको मूल्यांकन समितिको सिफारिसमा पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँले पुरस्कृत गर्ने नगरपालिकाले जनाएको छ । त्यस्तै सान्त्वना हुने ३ जना कृषकलाई नगद ३ हजारका दरले पुरस्कृत गर्ने महोत्सव तयारी समितिका संयोजक समेत रहेका अधिकृत राईले जानकारी दिए ।