वडा सदस्य राईको निधन

पुष २१, धनकुटा । धनकुटा जिल्ला सहिदभूमि गाउंपालिका वडा नम्बर ३ का महिला वडा सदस्य घनमाया राईको निधन भएको छ । मृतक राई मधुमेह रोगबाट पीडित रहेको जनाएको छ । उनको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराईरहेका थिईन् । हिजो मंगलवार मात्रै अस्पतालबाट घर फकाईएको पालिका अध्यक्ष मनोज राईले जानकारी दिए ।
अखिल नेपाल महिला संघको जिल्ला सदस्य तथा नेकपा एमाले सहिदभूमी पालिका कमिटी सदस्य समेत रहेकी मृतक राईको धार्मिक संस्कारअनुसार दाहसंस्कार गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । स्वर्गिय राईको पार्थिव शरीरलाई गाउँपालिका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नेश्वरी राई, नेकपा एमाले पालिका कमिटीका अध्यक्ष निरबहादुर राईलगायतले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिएका थिए । स्वर्गिय राईका श्रीमान् पुष्प राई र २ छोरा छन् ।
मृतक राईको निधनले पालिकालाई ठूलो क्षति भएको अध्यक्ष मनोज राईले बताए । अध्यक्ष राईकाअनुसार वडाको विकास र जनताको सेवा गर्न सधै क्रियाशील रहने मृतक राई एक इमान्दार र कर्तव्यनिष्ठ जनप्रतिनिधि रहेको जानकारी दिए ।
मृतक राई २०७४ सालको सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा सदस्यमा निर्वाचित भएकी थिईन् ।