शिविरका लागि धनकुटा अस्पतालको सरसफाई

धनकुटा ४ कार्तिक । गरिव असहाय तथा पहुँचविहीनहरुका लागी धनकुटा अस्पतालमा भोली ५ गतेदेखि १७ गतेसम्म बृहत् निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर संचालन गरिने भएको छ । सो क्रममा शिविरको तयारीसँगै अपस्पताल हाताभित्र सरसफाई गरिएको छ ।
सो सरसफाई धनकुटा नगरपालिका, नेपाली सेनाको वरख गण र सशस्त्र प्रहरी बल ६ नम्वर गुल्मको सहयोगमा गरिएको शिविर संचालन तथा व्यवस्थापन समितिका सचिव विजयसन्तोषी राईले जानकारी दिए ।

सरसफाई कार्यक्रममा वरख गणका गणपति कर्णेल युवराज केसी, सशस्त्र प्रहरी बलका गुल्मपति डिएसपी बालकृष्ण श्रेष्ठ, धनकुटा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष जंगबहादुर राई, शिविर संचालन तथा व्यवस्थापन समितिका सचिव विजयसन्तोषी राई, सदस्यहरु नरेन्द्र पोखरेल, प्रचारप्रसार संयोजक राजेश्वरबहादुर श्रेष्ठ, अस्पताल प्रमुख डा. अभिताप ठाकुर लगायत नेपाली सेना, सशस्त्र प्रहरी बलका जवान सरसफाई कार्यक्रममा सहभागीता रहेको थियो ।
शिविरमा विशेषज्ञ अमेरिकन डाक्टरहरुद्वारा पित्तको पत्थरी, पाठेघर, हर्निया, हाईड्रोसिल, पायल्स, गाँठागुठीको शल्यक्रिया गरिने छ । साथै दाँतसम्बन्धि उपचार र कृतिम हात पनि वितरण गरिने प्रचारप्रसार समितिका संयोजक राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए ।