धनकुटा बैशाख ११ । नेपाल अर्बुद रोग निवारण संस्थाको आयोजनामा आज जिल्ला अस्पतालमा क्यान्सर रोग परिक्षण शिविर सम्पन्न भएको छ । सो शिविरको प्रमुख अतिथि पूर्वमन्त्री सुनिल बहादुर थापाले शिविरका क्यान्सर रोग विशेषज्ञ डा. प्रभु शाहलाई मेडिकल किट दिई उद्घाटन गरेका थिए ।
उक्त शिविरमा ४ सय १५ जना महिलाहरुको भि. आई. ए. परिक्षण गरिएको थियो । परिक्षण गरिएकाहरुमध्ये २१ जना महिलाहरुमा रिङ प्रेसरी राखिएको धनकुटा लेडि जेसिजका अध्यक्ष प्रमिशा श्रेष्ठले जानकारी दिए । यस्तै ४ जना महिलाहरुमा रोगको लक्षण देखिएको र उनीहरुको थप उपचारका लागि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गरिने संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए । सो शिविरमा १ सय ४६ जना पुरुषहरुको सामान्य क्यान्सर रोग परिक्षण गरिएको थियो ।
शिविरको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि थापाले स्वास्थ्य र शिक्षा स्वास्थ्य मानवको अति आवश्यक कुरा भएकोले धनकुटामा यसको विकासका लागि क्रियाशीलता रहिरहने प्रतिवद्धता जनाए । उनले यो नैसर्गिक अधिकारसमेत भएकाले संविधानमै व्यवस्था गरेको जानकारी दिए ।
पूर्वमन्त्री थापाले सूर्यबहादुर थापा प्रतिष्ठानले नेपाल अर्बुद रोग निवारण संस्थासँगको सहकार्यमा काठमाडौंमा रहेका धनकुटेलीहरुको स्वास्थ्य परिक्षण गरेको बताए । उनले आगामी दिनमा धनकुटामा पनि संस्थासँग सहकार्य गरी शिविर सञ्चालन गर्ने उद्घोष गरे । उनले क्यान्सर रोग समयमै उपचार गरे निको हुने बताउँदै परिक्षण गर्न लाज मान्नु नहुने बताए ।
सो अवसरमा विषेश अतिथि अर्बुद रोग निवारण संस्थाका केन्द्रिय अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठ (ईश्वर) ले क्यान्सर रोग के हो ? र यो रोग लाग्ने कारक तत्वहरुका बारेमा जानकारी दिदै आमजनमानसमा सचेतना फैलाउनु पर्ने बताए । उनले आफ्नो गृहजिल्लामा यो शिविर ल्याउ पाउँदा खुसी लागेको बताउँदै शिविरबाट अधिकभन्दा अधिक महिला दिदीबहिनीहरुले स्तनको तथा पाठेघरको मुखको परिक्षण गराई लाभ लिन आग्रह गरे ।
कार्यक्रमको सभापतित्व अर्बुद रोग निवारण संस्था धनकुटा शाखाका सभापति नारायण रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन धनकुटा लेडी जेसिजका सचिव सावित्रा राईले गरेकि थिईन ।
शिविरको सहआयोजकमा धनकुटा लेडी जेसिज र नेपाल परिवार नियोज संघ रहेको थियो । यस्तै सहयोगी संस्थाहरुमा जिल्ला अस्पताल, धनकुटा नगरपालिका वडा नं. ३, वडासमिति, नेपाल पत्रकार महासंघ धनकुटा, देव्रेवास समाज सुधार समिति, होटल लालिगुराँस र भारतीय भू.पू. सैनिक परिवार रहेका छन् । उक्त शिविरमा भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. प्रभु शाह, स्त्री रोग विशेषज्ञ डा. उषा बादे श्रेष्ठ र डा. मुना कार्की लगायत १८ जना टोलीको सहभागिता रहेको थियो ।
शिविर शुरु हुनुअघि संस्थाबाट क्यान्सर रोग र सुर्तीजन्य पदार्थ सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो । सो कार्यक्रम बरख गणका सैनिक तथा सैनिक परिवार, दीप ईङलिस स्कूल र बाल संसार मा. वि. गरी २ सय ३५ सहभागीहरुलाई सामान्य क्यान्सर, स्तन क्यान्सर र सुर्तीजन्य पदार्थकाबारे जानकारी दिएको संस्थाका जिल्ला सचिव कमलप्रसाल श्रेष्ठले जानकारी दिए ।