धनकुटा १९ पुष । हिजो शुक्रवार दिउँसोदेखि राती अवेरसम्म परेको अविरल वर्षासँगै उच्च पहाडी भेगमा बाक्लो हिमपात भयो । सो हिमपातका कारण शनिबार विहानैदेखि सडक अवरुद्ध भयो । कोशी राजमार्गको सिधुवा बसन्तपूर सडक अवरुद्ध भएपछि धनकुटादेखि संखुवासभा र तेहथुम जाने यातायात घण्टौंसम्म रोकिएको थियो ।
आज विहानै नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा हिउँ सफा गरेपछि अवरुद्ध सडक सञ्चालनमा आएको छ । बाक्लो हिमपातको कारण धनकुटाको सिधुवा बजारदेखि माथि चित्रे नुनथलासम्मको सडक अवरुद्ध भएको थियो ।
हिउले यातायातका साधन सञ्चालन नभएको सूचना पाउना साथ सेना तथा प्रहरीको टोली हिउ पन्छाउन खटाईएको प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले जानकारी दिए ।
यस क्षेत्रमा दैनिक चल्ने सवारी साधन र हिउ हेर्न आउने पर्यटकहरुको सयौं सवारी साधनहरु सडकमा एक फिटसम्म हिउँ जमेपछि रोकिएको थियो । हिउँमा यातायातका साधन चिप्लन थालेपछि सम्भावित दुर्घटनालाई ध्यानमा राखी सुरक्षाकर्मीहरुले पनि सवारी साधनलाई चल्नबाट रोकेका थिए । हिजो बेलुकी हिउँ परिरहेको समयमा बालुवा बोकेर बसन्तपूर जाँदै गरेको एक टिफर पल्टिएको थियो ।
हिउमा डोजर लगाउन सम्भव नभएपछि बेल्चा प्रयोग गरेर सुरक्षाकर्मीहरुले हिउँलाई पन्साएर रोकिएका सवारी साधनलाई सुचारु गरिएको सशस्त्र प्रहरी वल छिन्ताङ गुल्मका प्रहरी नायव उपरीक्षक सचिन कर्माचार्यले बताए । अवरुद्ध सडक खुलाउन जिल्ला विपद व्यवस्थापन समितिको टोली एवं छथर जोरपाटी गाउँपालिकाका प्रमुख शेरबहादुर लिम्वुलगायतको टोली सो स्थलमा पुगेका थिए ।
अहिले नुनथला, पटेकडाँडा एवं चित्रे पर्यटकीयस्थल बन्दै गएका छ । अहिले यहाँ हिउ परेको सूचना प्रवाह भएपछि नेपालका तराईका मात्र नभई भेडेटार घुम्न आएका भारतीयहरु पनि आएका थिए । सो क्षेत्रमा जताततै पिकनिक खानेहरुको भिड देखिन्थ्यो । यस्तै शैक्षिक भ्रमणमा पनि प्रसस्त आएका थिए । सुरक्षाकर्मीहरुले सडक सुचारु गरेको भएपनि सयौं सवारीको कारण धेरै समय सडक जाम भएका थिए ।