धनकुटा । विश्वमै त्रास फैलाईरहेको नोवेल कोरोना भाईरसबाट बच्न धनकुटाका हाटबजार अर्को सूचना जारी नहुञ्जेलका लागि बन्द गर्ने निर्णय गरिएको छ । सो निर्णय सर्वपक्षीय बैठकले गरेका हुन् । यस्तै बैठकले पहाडको मुख्य नाका भेडेटारमा स्वास्थ्य परिक्षण डेक्स (हेल्प डेक्स) स्थापना गर्ने लगायतका निर्णयहरु गर्दै सबैलाई कोरोना भाईरसबाट बच्न आफै सचेत रहन आग्रह गरिएको छ ।
सो अवसरमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, छथरजोरपार्टी गाउपालिकाका अध्यक्ष शेर बहादुर लिम्बु, सहिदभूमी गाउँपालिकाका अध्यक्ष मनोज राईलगायत विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधिहरुले सवै स्थानीय तहहरुमा यो भाईरसको संक्रमणबाट बच्न व्यापक जनचेतना अभिवृद्धी गर्दै जनसमुदाय नै अभियानमा जुट्नु आवश्यक रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीको अध्यक्षतामा भएको बैठकमा स्वास्थ्य कार्यालयका प्रमुख तुलसीप्रसाद गुरागाई र धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माले धनकुटामा अहिले नोवेल कोरोना भाईरसबाट बच्न अपनाईरहेको अवस्थाको वारेमा प्रकाश पारेका थिए । सो अवसरमा बरखगण सल्लेरी व्यारेकका गणपति कर्णेल भगवान थापा मगर, जिल्ला प्रहरी प्रमुख एसपी सुदर्शनप्रसाद कोईराला, सशस्त्र प्रहरी बल छिन्ताङका गुल्मपति डिएसपी सचिन कर्माचार्य, जिल्ला समन्वय अधिकारी रामनारायण श्रेष्ठ, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत रामबहादुर थापा, धनकुटा वहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेत, शिक्षा समन्वय ईकाइका प्रमुख मोहनकुमारी राई, महालक्ष्मी नगरपालिकामा अधिकृत खगेन्द्र नेपाल, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई, धनकुटा बजार व्यवस्थापन समितिका अध्यक्ष बिप्लव श्रेष्ठलगायत विभिन्न संघसंस्था तथा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उनीहरुले नोवेल कोरोना भाईरसबाट बच्न सवैको प्रयास र सहभागीताबाट मात्र सफल हुनु भएकोले सबैले आआफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
पहिलो चरणमा धनकुटाको प्रमुख नाका भेडेटारमा हेल्प डेक्स स्थापना गर्ने र सातैवटा तहका नाकाहरुमा क्रमशः हेल्प डेक्स स्थापना गर्दै जाने निर्णय गरेको छ । यस्तै औद्योगिक ग्राममा तत्काल क्वारेन्टाईन स्थापना गरी आईसोलेशन वार्ड बनाउने, जिल्लाभर २५ जनाभन्दा बढी भेला, सम्मेलन, बैठक लगायतका जमघटहरु बन्द गर्ने र सवै सरकारी कार्यालयहरुमा अनिवार्य हात धुने व्यवस्था गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत जयराम श्रेष्ठले जानकारी दिए ।
सबै सरकारी तथा सामाजिक संघसंस्थाहरुको समन्वयमा व्यापक प्रचार प्रसार गरी नोवेल कोरोना भाईरसबाट बच्ने उपायहरुको सचेतना जगाउने र बजारमा दैनिक उपभोग्य सामग्रीहरुलगायत औषधिको अभाव हुन नदिन कडाईका साथ अनुगमन गरिने उद्योग वाािणज्य संघका अध्यक्ष विजयसन्तोषी राईले बताए ।