धनकुटा चैत्र १८ गते । आज धनकुटा नगरपालिकाले नावेल कोरोना भाईरसबाट नगरवासीलाई पर्न जाने समस्याको समाधानका लागि राहत वितरण गर्नेलगायतको निर्णय गरेको छ । नगर प्रमुख चिन्तन तामाङको अध्यक्षतामा बसेको नगरकार्यपालिकाको बैठकले सो निर्णय गरेका हुन् । सो बैठकले निम्नअनुसारको निर्णय गरेको जनाएको छ ।
निर्णय नं. १ ः नगरभित्र रहेका विपन्न सुकुम्बासी, दैनिक ज्यालादारी काम गरी विहान बेलुकाको छाक टार्ने मजदुर र श्रोतविहीन भएर आपत परेका परिवारको वडागत रुपमा विवरण लिई राहत उपलब्ध गराउन नगरपालिका सिफारिस गरी पठाउने ।
नगरपालिकाले राहत सामग्रीको कम्बो प्याक निम्नानुसार तय गरी वडातहबाट नै वितरणको ब्यवस्था मिलाउने ।
(अ) मन्सुली र पानमारे मन्सुली चामल २५ केजी, (आ) मुसुरो दाल २ केजी, (इ) सनफ्लावर तेल १ लिटर, (ई) आयोनुन १ केजी, (उ) हातधुने साबुन १ वटा ( डेटोल र लाइफब्याय साबुन ) ।
निर्णय नं. २ ःधनकुटा नगरपालिका क्षेत्रभित्र कुनै ब्यक्ति, संघसंस्थालगायत कसैले पनि नगरपालिकाको अनुमति बिना नगदी, जिन्सी सामान राहतको रुपमा कोही कसैलाई उपलब्ध गराउन र राहतको नाममा नगदी जिन्सी संकलन गर्न समेत पाउने छैन । नगरपालिकाको समन्वयमा एकद्वार प्रणालीमार्फत मात्र राहत उपलब्ध गराउने निर्णय गरियो ।
निर्णय नं. ३ ः विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट आफु बच्न र अरुलाई बचाउन धनकुटा नगरपालिकाका १० वटै वडामा विदेशबाट आएका (१५ दिन अगाडी सम्मका) ब्यक्तिहरुको पहिचान गरी वडाहरुले नियमित रुपमा तथांक नगरपालिकामा पठाई निजहरुलाई आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बस्ने ब्यवस्था मिलाई हिडडुल र सम्पर्कमा कडाई गर्ने र १५ दिन बढी भएकाको स्वास्थ्य अवस्था अनुगमन गरी रिपोर्टिङ्ग गर्ने निर्णय गरियो ।
निर्णय नं. ४ ः धनकुटा नगरपालिका वडा नं. ६ मा रहेको क्वारेन्टाइनको ब्यवस्थापन विपद् ब्यवस्थापन समितिसँगको समन्वयमा धनकुटा नगरपालिकाले गर्ने निर्णय गरियो ।
सो बैठकमा नगर उपप्रमुख, वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीहरुको उपस्थिति रहेको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए ।
यस्ता राहत यस अघि धनकुटा नगरपालिका वडा नं. ३ र वडा नं. ५ ले आफ्ना वडावासीलाई वितरण गरिसकेका छन् ।