धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ५ डाँडाबजार स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा डेढ वर्षपछि डाक्टर नियुक्ती भएका छन् साँगुरीगढी गाउँपालिकाको पहलमा डेढ वर्ष पछि उक्त स्वास्थ्य केन्द्रमा डाक्टर नियुक्ती भएका हुन् ।
मंगलवार गाउँपालिकामा आयोजित एक समारोहका वीच पालिका अध्यक्ष जितेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुर र ५ नं. वडाध्यक्ष खड्ग लिम्बूले संयुक्त रुपमा डा. जुवेर आलामलाई स्वागतसँगै नियुक्ति पत्र प्रदान गरेका थिए ।
डाक्टर नहुँदा सामान्य उपचारको लागि पनि धरान विराटनगर जानुपर्ने समस्या भएको व्यापक जनगुनासो वढेपछि गाउँपालिकाले विज्ञापन आव्हान गरेर डाक्टर नियुक्ती गरेको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए । उनले भने ‘डाक्टर नियुक्तीसँगै अव प्राथमिक स्वास्थ्य केन्द्रमै सहज रुपमा स्थानीय वासिन्दाले सेवा पाउनेछन् ।’
डाँडाबजारमा रहेको यस स्वास्थ्य केन्द्रमा डाँडाबजार सँगै वुढिमोरङ, खुवाफोक, फाक्सिव, ओख्रे, चौविसे गाउँपालिकाको राजारानी, मोरङको पाटी गाउँ, याङ्सिला लगायत क्षेत्रका स्थानीय वापसिन्दा पनि लाभान्वित हुनेछन् । यस भन्दा अघि पनि गाउँपालिका अध्यक्षकै पहलमा उक्त स्वास्थ्य केन्द्रमा डिजिटल एक्सरे मेसिन स्थापना भएको थियो । उक्त मेसिन अहिले संचालनमा छ । त्यस्तै एम्बुलेन्स सेवा पनि संचालनमा रहेको छ ।