धनकुटा २७ चैत ।
धनकुटा सदरमुकाममा प्रधान कार्यालयको एकमात्र विकास बैंक काबेली विकास बैंक मर्जमा जाने निर्णय गरेको छ । आज बसेको विशेष साधारण सभाले विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंकसँग मर्जमा जाने निर्णय गरेका छन् । मर्जमा गएपछि आगामी आर्थिक वर्ष श्रावण महिनादेखि एकीकृत कारोवार गर्ने बैंकले जनाएको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंकको पनि आजै भएको साधारणले मर्जमा जाने निर्णय गरेको कावेली विकास बैंकका प्रमुख कार्यकारी अधिकृत शैलेन्द्र वादे श्रेष्ठले जानकारी दिए । आज सम्पन्न विशेष साधारण सभामा बैंकका अध्यक्ष गोपालप्रसाद काफ्लेले काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकसँग मर्जमा जान प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ ।
नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिअनुसार विकास बैंकको चुक्ता पुँजी ५० करोडको हुनु पर्ने भएकाले वाध्यताले मर्जमा जानु परेको अध्यक्ष काफ्लेले जानकारी दिए । कावेलीको हालको पुँजी २८ करोडको हाराहारीमा मात्र भएकाले नेपाल राष्ट्र बैंकको एकातिर रकम नपुग र अर्को बैंक तथा वित्तीय संस्थाको कार्यक्षेत्र जिल्लास्तरीय नभई प्रादेशिक स्तरको बनाउनु पर्ने भएकाले वाध्यताले मर्जमा गएको काफ्लेले बताए ।
बैंक मर्जमा गएपछि प्रधान कार्यालय धनकुटामै रहने र कर्पोरेट अििफस विराटनगरमा रहने बैंकका प्रमुख कार्यकारी अधिकृत शैलेन्द्र बादे श्रेष्ठले जानकारी दिए । बैंक मर्जमा गएपछि जोखिम बहन गर्ने क्षमता हालको भन्दा तेब्बर बृद्धि हुने डेपुटी प्रमुख कार्यकारी अधिकृत कुमार खड्काले जानकारी दिए ।
सञ्चालक समितिका अर्का सदस्य तिलविक्रम चेम्जोङले मर्जर पछि बैंकको ७ जिल्लामा कार्यालय रहने जानकारी दिए । उनले बैंकको १ केन्द्रिय कार्यालय, १ कर्पोरेट कार्यालय र २४ शाखा कार्यालय सहित २६ वटा कार्यालयबाट वित्तीय सेवा प्रवाह हुने जानकारी दिए ।
सो अवसरमा सञ्चालक समितिका सदस्य जनार्दन गोठालेले स्वागत मन्तव्य दिएका थिए । सो क्रममा गोठालेले आफ्नो पहिचान नै गुमाएर मर्जमा जानु पर्ने रहर नभई वाध्यता रहेको बताए । तर, मर्ज भएपछि पुँजीमा बृद्धि, क्षेत्राधिकारमा विस्तार हुने, लगानीमा बृद्धि हुने जस्ता सकारात्मक फाईदा पनि रहेको जानकारी दिए ।
विशेष साधारण सभामा पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले पूर्व पहाडका नदीहरु सप्तकोशीमा गाभिए नाममा नदीको नाममा स्थापित बैंक सप्तकोशीमा गाभिएको बताउँदै मुख्य कारोवार धनकुटाबाट नभई विराटनगर सार्न वाध्य भएकोमा दुःख प्रकट गरे । उनले सरकारको नीति पहाड विरोधी रहेको बताउँदै सरकारी नीतिले कुनैपनि बैंकको पहाडमा कर्पोरेट कार्यालय रहन नसक्ने बताए ।
सो अवसरमा शेयर सदस्यका तर्फबाट द्रोणप्रसाद गुरागाई, गीता अधिकारी, जयन्द्र प्रधानलगायतले शेयरको अवस्था र मर्जको कारणका वारेमा प्रश्न राखेका थिए । शेयरसदस्यहरुको प्रश्नको अध्यक्ष तथा डिपुटी सिइओले जवाफ दिएका थिए । कार्यक्रमको सञ्चालन मोहन ढुंगेलले गरेका थिए ।