ठाकुरप्रसाद बराल
कप्तान नसिबसिंह थापाका नाती, कप्तान टेकबहादुर थापाका काइँला छोरा सूर्यबहादुरको जन्म वि.सं. १९८४ सालमा मुगा गाउँमा भएको थियो । यिनलाई काँइला बा भन्ने गरिन्थ्यो । यिनको प्रारम्भिक शिक्षा मुगा संस्कृत पाठशालामा र केही समय धनकुटाको गोकुण्डेश्वरमा भएको थियो । यिनले दार्जीलिङ हुँदै इलाहावाद विश्वविद्यालयबाट बी ए उत्तीर्ण गरे ।
यिनी सामान्य कर्मचारी भएर जीविका चलाउन चाहन्थे । त्यसैले यिनी ओमबहालमा डेरा लिएर लोक सेवा तयारीको लागि बसेका थिए । तर, तीन पटकसम्म परीक्षा दिँदा पनि उत्तीर्ण हुन नसकेपछि भविष्य अन्योलमा परेकाले पत्रिका पढी बस्थे । यसरी पत्रिका पढी बस्दा यिनले नेपालको सत्ताको मुख्य साँचो दरबारभित्र रहेको चाल पाए । त्यसपछि यिनी विस्तारै कसरी दरबारको नजिक पुग्ने भन्ने ध्याउन्न गर्न थाले ।
इलाहावाद बस्दा यिनको राणा तथा शाह परिवारका केही मानिससँग परिचय भएको थियो । तिनै स्रोतहरू पहिल्याउँदै यिनी विस्तारै दरबारको नजिक पुगे । वि.सं. २००७ सालको परिवर्तनमा यिनको कुनै पनि साइनो थिएन । यिनको राजनीतिमा संलग्नता एक्कासी वि.सं. २००९ सालमा राष्ट्रिय काँग्रेस (शाह गुट) मा देखा प¥यो ।
यिनको दरबारलाई खुसी पार्ने प्रयत्न राजा महेन्द्रको धनकुटा भ्रमणबाट सुरु भयो । वि.सं. २०१३ सालमा जब राजा महेन्द्र फाङ्दुवा पुगे, तब सूर्यबहादुर थापासमेतका मुगाली थापाहरूले राजालाई खुकुरी, घरबुना कपडा तथा स्थानीय धानको नमूना चढाए । यतिसम्म कि उनीहरूले राजालाई खुसी पार्न एउटा चितुवाको बच्चासमेत चढाए । यसबाट राजा महेन्द्र खुसी भएका थिए । वि.सं. २०१५ सालको निर्वाचनमा यिनी निर्वाचन क्षेत्र नं. २२ बाट स्वतन्त्र उम्मेदवारका रूपमा भाग लिए, तर पराजित भए । त्यसबेला यिनको घोडा चिन्ह थियो । त्यसबेला यिनको चैनपुरका मानिसहरूसँग खटपट परेकाले चैनपुरलाई आफ्नो कार्यकालमा शून्य बनाउन त्यहाँका कार्यालय सारेकाले घोडाले लात्तीले हान्यो भन्ने गरिन्थ्यो । पराजित थापालाई राजाले वि.सं. २०१५ सालमा सल्लाहकार सभाको अध्यक्ष बनाए र राष्ट्रिय सभामा दुई वर्षका लागि मनोनित गरे ।
वि.सं. २०१७ सालको राजनीतिक परिवर्तनपछि त यिनलाई बारम्बार चिट्ठा परिरह्यो । यिनी पञ्चायतमा वि.सं. २०१७ असारमा अर्थ, आर्थिक कार्य विषयक, पुषमा कृषि, वन, उद्योग, वाणिज्यमन्त्री बनाइए । वि.सं. २०१९ सालको चैतमा यिनी मन्त्रिपरिषद्को उपाध्यक्ष भए । त्यसै वर्ष राजाबाट रापंसमा मनोनित गरिए । वि.सं. २०२० साल चैतमा यिनलाई अर्थ र आर्थिक योजना मन्त्रालय पनि मिल्यो । वि.सं. २०२१ साल असारमा यिनलाई उपाध्यक्षसहित कानून तथा न्याय मन्त्रालय पनि मिल्यो । वि.सं. २०२२ साल असारमा मन्त्रिपरिषद्को अध्यक्ष पनि बनाइए । वि.सं. २०२३ सालमा रापंस निर्वाचित भए । वि.सं. २०२४ जेठमा यिनी प्रधानमन्त्री नै बनाइए ।
यिनकै प्रधानमन्त्रित्वकाल र ज्ञानेन्द्रबहादुर कार्की जलस्रोतमन्त्री भएको बेला नै धनकुटाको बञ्चरे जलविद्युत् योजना निर्माण भएको हो । वि.सं. २०२५ साल चैतमा यिनी प्रमबाट हटाइए । वि.सं. २०२७ मा यिनी रापंस निर्वाचित भए । राजा महेन्द्रको मृत्युपछि वि.सं. २०२९ सालदेखि यिनको दरबारसँगको सम्बन्ध बिग्रियो ।
त्यसै वर्ष यिनी १३ सूत्रीय माग राख्दै विरोधमा उत्रिए । वि.सं. २०२९ साउनमा यिनी नजरबन्दमा राखिए र पुष १ गते कालो टीका लगाएर होम गरे । माघमा यिनी २१ दिने अनसन बसे । वि.सं. २०३० असोजमा यिनलाई नजरबन्दमुक्त गरियो ।
दरबारसँग सम्बन्ध राम्रो नभए पनि यिनले वि.सं. २०२९ सालमा पाख्रिवासमा कृषि फर्म स्थापना गरे । त्यो फर्म गोरखा भर्तीबाट फिर्ता भएका बेलायती नेपाली सैनिकहरूलाई खेतीमा पुनस्र्थापित गर्नका लागि ताप्लेजुङको तेम्बे भन्ने ठाउँमा स्थापना गर्न लागिएको थियो । त्यो कृषि फर्मलाई पाख्रिवासमा स्थापना गर्ने कार्यमा तत्कालीन बेलायती राजदूत तथा मिलिटरी स्ट्याच्यूसँगको यिनको असल सम्बन्धका कारण सफल भएको भन्ने थापानिकट स्रोतहरू बताउँछन् ।
वि.सं. २०३५ सालमा पुनः यिनको दरबारसँगको सम्बन्ध सुध्रियो र रापंसमा मनोनित गरिए । यसै वर्ष राजाको सवारी धनकुटा हुँदा धनकुटालाई चिया खेती विकासको क्षेत्र घोषणा गराउने कार्यमा यिनको भूमिका थियो भनेर उनीनिकट स्रोत बताउँछन् । यसै बेला धनकुटा बहुमुखी क्याम्पसको एउटा ब्लकको लागि बजेट छुट्ट्याइयो र यिनीबाट नै सो ब्लकको उद्घाटन भयो । धनकुटा जिल्लाको सदरमुकाम मुढे क्षेत्रमा राख्न खोजिएकोमा रोकी धनकुटामा नै राखिएको थियो भन्ने पनि दाबी गरेको पाइन्छ । हवाई फिल्ड र औद्योगिक क्षेत्रको घोषणा पनि उनैको पहलमा गरिएको थियो । तर, यी दुवै काम यिनी जीवित रहदाँ भएको पाईएन । वि.सं. २०३६ साल जेठमा यिनी दोस्रो पटक प्रधानमन्त्री बनाइए । वि.सं. २०३६ सालमा यिनले धनकुटाको सामुदायिक भवनको पञ्च भेलामा बीपीलाई फाँसी दिनुपर्छ भनेर भाषण गरेका थिए भने वि.सं. २०३८ सालको निर्वाचनमा टुँडिखेलमा आफ्नो विजय सभामा यिनले भने– ‘मलाई राजा चाहिएको हैन, राजालाई नै म चाहिएको हो ।’
वि.सं. २०३८ साल जेठमा यिनी रापंस निर्वाचित भए । वि.सं. २०३८ सालमा तत्कालीन स्थानीय विकास मन्त्रालयका सचिव रामनारायण श्रेष्ठको योजना बमोजिम विशेष कार्यक्रमअन्तर्गत राखी जिल्लाका सबै विद्यालयमा खानेपानी र कर्कटपाताका लागि बजेट विनियोजन गरिएको थियो । यसै बेला राजारानी–बुधबारे र बुधबारे–लेटाङ सडकका लागि पहिलो पटक बजेट छुट्टिएको थियो । कुरुले, ताङ्खुवा, बुधुक, बेलहारा, डाँडागाउँ, मुगाका ठूला खानेपानी योजना पनि त्यति बेला नै बनेका हुन् । असारमा यिनी निर्विरोधप्रधानमन्त्री बने । वि.सं. २०३९ सालमा यिनी अविश्वासको प्रस्तावबाट प्रमबाट हटाइए ।
प्रजातन्त्र पुनस्र्थापना भएपछिको पहिलो निर्वाचन वि.सं. २०४८ सालमा यिनी प्रतिनिधि सभा सदस्यमा पराजित भए । तर, २०५१ सालको निर्वाचनमा विजयी भए । यिनी निर्वाचित भएपनि धनकुटामा कोशी पहाडका ४ जिल्ला हेर्नेगरी पुनरावेदन अदालत स्थानिा भयो । यसै समयमा जनजातिहरूको बसोबास बाहुल्यता भएका धनकुटाका महाभारतलगायत ६ गाविसमा जापान र नेपालको दौत्य सम्बन्धको ५०औँ वर्ष गाँठको उपलक्ष्य पारेर विद्युत् लाइन विस्तार गरिएको थियो । जापानी कूटनीतिक क्षेत्रमा यिनको पहुँच भएका कारण नै सो विद्युत्को काम हुन सकेको थियो भन्नेसमेत उनीनिकटहरू बताउँछन् ।
वि.सं. २०५४ सालमा काँगे्रसको समर्थनमा यिनी फेरि प्रम भए । धनकुटा वजारमा हाल रहेको खानेपानी र पाख्रिबास, मारेक र कटहरेका स्कुल भवनको निर्माणमा भारतीय सहयोग प्राप्त गरी निर्माण गर्ने कार्यमा यिनको भूमिका रहेको थियो । वि.सं. २०५६ सालमा यिनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । वि.सं. २०५९ सालमा राजाबाट पाँचौँ पटक प्रधानमन्त्री बनाइए ।
देशमा गणतन्त्र आएपछि भएको वि.सं. २०६४ सालमा भएको संविधान सभा सदस्यको पहिलो निर्वाचनमा पराजित भएपछि यिनी चुनावमा उठेनन् । वि.सं. २०७० सालको निर्वाचनमा भने यी समानुपातिक कोटाबाट संविधान सभामा पुगे । ज्येष्ठ सदस्यको हैसियतले संविधान सभाको अध्यक्षतासम्म गर्न भ्याए ।
वि.सं. २०७२ सालमा यिनको निधन दिल्लीको मेदान्त अस्पतालमा उपचारकै क्रममा भयो । यिनकै पालामा छिन्ताङ नरसंहार भएकाले यिनलाई बारम्बार छिन्ताङ काण्डको नाइके भनेर आरोप लगाइन्छ । यिनले पनि झापा काण्डको जिम्मा एमालेले लिन्छ भने म पनि छिन्ताङ काण्डको जिम्मा लिन्छु भनेर जवाफ दिने गरेको पाइन्थ्यो ।
यिनको स्मरणीय पक्ष के छ भने धनकुटाबाट कोही पनि बिरामी उपचारका लागि काठमाडौँ पुग्यो भने त्यो मानिसको उचित उपचारमा सहयोग गरिदिन्थे । तर किन हो, धनकुटामै भरपर्दाे औषधालयका लागि भने यिनले पहल गरेको पाइँदैन । यिनलाई धनकुटाले उचित प्रयोग गर्न सकेन कि ? राज्य सत्ताको मुख्य लगाम नै यिनको हातमा हुँदा धनकुटाले राज्यबाट केही लिन सक्नुपर्दथ्यो । यिनले धनकुटालाई केही गर्न चाहेँपनि धनकुटेलीले लिन नसकेको हो, त्योचाहिँ अनुसन्धानकै विषय हुन सक्ला ।
यिनको निधन पछि भने यिनको अभाव आमधनकुटेलीलाई महसुस भएको पाईन्छ । प्रदेश राजधानी घोषणा गरिरहदाँ यदी यिनी जीवित भएको भए प्रदेश नं. १ को राजधानी विराटनगर नभई धनकुटा नै हुनसक्थ्यो भन्नेहरु कम छैन ।
धनकुटाका एक सय एकसन्तानबाट
सूर्य बहादुर थापा नेपालमा चर्चित र प्रभावशाली तथा विश्वमै चर्चित नेता थिए भन्नेमा दुई मत छैन ।उनको प्रभाव र शक्ति बुझ्दा र पढ्दा कुना कुनासम्म पिच बाटो तथा घरघरमा बत्ती, पानी र रोजगारी त्यो बेला नै पुग्न सक्थ्यो धनकुटामा । तर, हेरौंँ त धनकुटाका गाउँको हालत । अझ भनौं उनकै गृहस्थान मुगाको हालत । त्यसकारण, धनकुटाका लागि उनले जे गर्न सक्थे त्यति गरे जस्तो लाग्दैन ।