धनकुटा । चौथो फाक्सिव गोल्डकपको उपाधी डाँडाबजार फुटवल क्लवले जितेको छ ।
साँगुरीगढी गाउँपालिका वडा नंं ४ फाक्सिव खेलमैदानमा शनिवार सम्पन्न फाइनल खेलमा हात्तिटार स्पोटिङ क्लव राजारानीलाई ६–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै डाँडाबजार फुटवल क्लवले उपाधी जितेको हो । उपाधीसँगै डाँडाबजारले नगद १ लाख रुपैया सहित ट्रफी हात पा¥यो भने उपविजेता वनेको राजारानीले नगद ५० हजार रुपैया र ट्रफीमा चित्त वुझायो ।
डाँडाबजारको जितमा सन्दिप लिम्बुले खेलको ५, २०, ४३, ५६ र ६० औं मिनेटमा गरी एक्लैले ५ गोल र विपिन लिम्बुले २९ औं मिनेटमा एक गोल गरे । त्यस्तै राजारानीको लागि सान्त्वना गोल दिलकुमार लिम्बुले गरे । उनले खेलको ३० औं मिनेटमा गरेका थिए ।
एक पक्षिय खेलमा डाँडाबजारले सुरुवात देखि नै राजारानीलाई दवावमा राखेको थियो । जसको कारण फराकिलो गोलअन्तरले उपाधी जित्न सफल भयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी डाँडाबजारका सन्दिप लिम्वु घोषित भए । उनले नगद २ हजार रुपैया प्राप्त गरे । त्यस्तै प्रतियोगिताभर ८ गोल गर्दै सर्वाधिक गोलकर्ता लिम्बु नै घोषित भए । सर्वाधिक गोलकर्ता बापत नगद २ हजार रुपैया प्राप्त गरे ।
त्यस्तै उत्कृष्ट गोलकिपर डाँडाबजारका रोशन कार्की घोषित भए र उनले पनि २ हजार रुपैया प्राप्त गरे । फाइनल खेलको म्यान अफ द म्याच डाँडाबजारका उमेश कार्की घोषित भए र नगद १५ सय रुपैया प्राप्त गरे ।
विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, वडा नं. ५ का वडाध्यक्ष खड्ग लिम्बु लगायतले पुरस्कार वितरण गरेका थिए ।
सोही अवसरमा प्रतियोगिताको दोस्रो पुरस्कार सौजन्य गर्ने धरान उपमहानगरपालिका वडा नं. १५ निवासी हाल वेलायत काराललमा वस्ने राजकुमारी थेगिम लिम्बुलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्ति वेलायतमा रहेकाले उनको तर्फबाट उनका भाई देवेन्द्र थेगिमले सम्मान पत्र ग्रहण गरेका थिए । गाउँपालिका अध्यक्ष जितेन्द्र राईले सम्मान पत्र प्रदान गरेका थिए । वेलायत निवासी राजकुमारी लिम्बु एलस आङ्दिबे परिवारवाट दिंवगत छोरी स्वर्गीय सुश्री सजिना आङ्दिम्बे लिम्बुको स्मृतिमा दोस्रो पुरस्कार बापत नगद ५० हजार प्रायोजन गरेका थिए ।
फाक्सिव फुटवल क्लवको आयोजनामा गत १० गतेदेखि सुरु भएको प्रतियोगिता संचालनको लागि साँगुरीगढी गाउँपालिका, ४ नं. वडा कार्यालय र विभिन्न देश तथा विदेशमा रहेका फुटवलप्रेमी व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् ।