सुर्खेत । असार मसान्तभित्र खर्च विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउनुपर्ने भए पनि साउन मसान्त बितिसक्दा पनि जिल्लाका स्थानीय तहले आफ्नो खर्च विवरण अझैसम्म बुझाएका छैनन् ।
कुन स्थानीय तहमा कति खर्च भयो र कति रकम फ्रिज भयो थाहा हुन नसकेको कार्यालयका सूचना अधिकारी कोष नियन्त्रक लोकप्रसाद पौडेलले जानकारी दिए ।
जिल्लाका ९ स्थानीय तह छन् । “रकम निकासा सबै भयो, तर खर्च भयो भएन थाहा भएन,” पौडेलले भने । ९ स्थानीय तहमा ७ अर्ब ७८ करोड २८ लाख ४९ हजार निकाशा गरिएको थियो । वीरेन्द्रनगर नगरपालिकालाई ६९ करोड ७० लाख ८० हजार, गुर्भाकोटलाई ४७ करोड १२ लाख ७९ हजार, पञ्चपुरीलाई रु ३८ करोड १८ लाख ३७ हजार, भेरीगङ्गालाई ३९ करोड ८२ लाख ३२ हजार तथा लेखबेँशी नगरपालिकालाई ३४ करोड १३ लाख १८ हजार निकाशा गरिएको थियो ।
पौडेलका अनुसार सिम्ता गाँउपालिकालाई ३४ करोड ५६ लाख ४७ हजार, बराहताललाई ३४ करोड ९६ लाख १८ हजार, चौकुनेलाई ३१ करोड ८२ लाख ८९ हजार तथा चिङगाड गाउँपालिकालाई २३ करोड ८५ लाख २८ हजार निकाशा गरिएको थियो । ढिलो अख्तियारीका कारण ठूलो मात्रामा बजेट फ्रिज हुने गरेको छ ।
१ अर्ब २३ करोड बजेट फ्रिज
जिल्लास्थित विभिन्न सरकारी कार्यालयद्वारा सञ्चालित विभिन्न काम पूरा हुन नसकेर गत आवमा जिल्लामा १ अर्ब २३ करोड फ्रिज भएको थियो । चालुतर्फ ९ अर्ब ७७ करोड चार लाखमध्ये ९अर्ब ७७ करोड चार लाख मात्र खर्च भएको जानकारी प्राप्त भएको छ ।
चालुतर्फको ४६ करोड ९९ लाख ४८ हजार बजेट फिर्ता भएको छ । पूँजीगततर्फ ९ अर्ब ६३ करोड ३८ लाखमध्ये ८ अर्ब ८७ करोड ३४ लाख ९५ हजार मात्र खर्च भएको हो । पूँजीगततर्फ ७६ करोड ३ लाख फिर्ता भएको छ । चालु वर्षमा १ अर्ब ८ करोड राजश्व आम्दानी भएको थियो । आव २०७४÷७५ मा कर तथा गैरकर गरेर १ अर्ब आठ करोड राजश्व संकलन गरिएको थियो ।