धनकुटा । प्रदेश १ को संसदीय समितिमा ज्येष्ठ सदस्यको सभापतित्वमा चल्दै आएको १ वर्ष भइसक्यो । बल्लबल्ल शुक्रबारदेखि सात वटै समितिले सभापति पाएका छन् ।
प्रदेशसभाका सातवटा विषयगत समितिमा ज्येष्ठ सदस्यबाट काम चलाउँदै आएका समितिले शुक्रबार भएको निर्वाचनसँगै सभापति पाएका हुन् । ‘मिनी’ संसद्को रूपमा लिइने समितिको सभापति निर्विरोध चयन भएका हुन् ।
जसअन्तर्गत धनकुटा प्रदेश नम्बर २ का सांसद इन्द्रमणी पराजुली न्याय, प्रशासन तथा विधायन समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । प्रदेश सभाले २०७४ चैतमा सातवटा विषयगत समिति निर्माण गरेको थियो । निर्वाचित विषयगत समितिका सभापतिहरूमध्ये लेखा समितिका शिवनारायण गन्गाईं मुख्य प्रतिपक्षी दल कांग्रेसका हुन् भने अन्य सबै सत्ताधारी दल नेकपाका सांसद् हुन् ।
त्यसैगरी सुशासन तथा योजना समितिमा अर्जुन राई, अर्थ समितिमा मोहनकुमार खड्का, सार्वजनिक लेखा समितिमा शिवनारायण गन्गाईं, सामाजिक विकास समितिमा सरिता थापा, उद्योग, पर्यटन, वन तथा वातावरण समितिमा सीता थेबे, प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा सर्वध्वज साँवा सभापतिमा चयन भएका छन् ।