संखुवासभा । स्थानीय प्रशासनले कार्यक्रम संचालनमा रोक लगाएपछि अन्तर्राष्ट्रिय साँस्कृतिक महोत्सवका लागि गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले हिडेका एकसय बढि देशका करिब एकहजार दुईसय भन्दा बढी विदेशी पर्यटक अलपत्रमा परेका छन् ।
उनीहरु सुनसरी, धनकुटा र तेह्रथुमका विभिन्न स्थानमा अलपत्र परेका हुन् ।
काठमाडौंका शक्तिपिक म्यूजिक फेस्टिवल प्रा.लि.ले मादी नगरपालिका–१ चौकी डाँडाँमा चैत्र २२ गते देखि २७ गते सम्म आयोजना गर्न लागेको अन्तराष्ट्रिय साँस्कृतिक महोत्सवमा लागुपदार्थको प्रयोग, अश्लिल गतिविधि र खुल्ला यौन व्यवहार हुने भन्दै स्थानीय प्रशासनले रोक लगाएको थियो ।
प्रशासनको प्रतिवन्धपछि उक्त कार्यक्रमका लागि हिडेका एकहजार दुईसय बढि विदेशी पर्यटक धरान, भेडेटार, मुलघाट, धनकुटा, हिले, सिंधुवा र बसन्तपुरका विभिन्न होटलमा तथा खाली ठाउँमा टेन्ट टाँगेर बसेको कार्यक्रम संयोजक सुवास केसीले बताए ।
स्थानीय तहको स्वीकृतिपछि कार्यक्रम गर्न लागिएको आयोजकको दावी छ । अघिल्लो बर्ष पनि सोही संस्थाले तीनजुरे मिल्के जलजले क्षेत्रमा यस्तै साँस्कृतिक महोत्सव गरेको थियो ।

फोटोः धनकुटा न्यूज