धनकुटा २४ चैत्र । लामो समय मौन देखिएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सक्रिय बनेको छ । स्थानीय तहहरुमा सत्तारुढ दल नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) ले गरेको असल कामको लागि सहयोग र खराव कामको भण्डाफोर गर्ने गरी सक्रिय भएको जनाएको छ ।
यसैक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस धनकुटाका नेताहरुले साँगुरीगढी र चौविसका स्थानीय नेता तथा कार्यकर्ताहरुसँगभेटघाट तथा छलफल गरेको छ । चौविसेको राजारानीमा तथा साँगुरीगढीको भेडेटार र डाँडाबजारमा भेटघाट तथा छलफल गरेको सचिव विजयसन्तोषी राईले जानकारी दिए । सो क्रममा नेताहरुले स्थानीय नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहले गरेको कामलाई नजिकबाट नियाल्न निर्देशन दिएका छन् ।
सो क्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति तथा पूर्व सांसद मनोहरनारायण श्रेष्ठले स्थानीय तहका सरकारलाई शान्तिपूर्वक निर्वाचनताका जारी गरेका घोषणापत्रका आधारमा काम गर्न दिएको बताए । श्रेष्ठले यतिका समय हामी कमजोर भएर नभई सरकारलाई विकास निर्माण गर्न सहज होस् भनेर मौन समर्थन गरेको बताए । तर, २ तिहाईको सरकार जनचाहनाअनुसार काम गर्न तिर नभई आफुले पाएको जनमतको दम्भ देखाउन तल्लिन रहेको आरोप लगाए । नेता श्रेष्ठले अहिले हसाउने कलाकार विकास निर्माणमा लागिरहेका छन् । तर, विकास निर्माण गर्नुपर्ने प्रधानमन्त्री हसाउन तल्लिन रहेको आरोप लगाए । उनले नेपाली कांग्रेसले सरकारप्रति प्रदर्शन गरेको सहिष्णुतालाई सदासयताका रुपमा नलिई कमजोरीका रुपमा लिएकाले अब गाउँदेखि शहरसम्म नेपाली कांग्रेसले सरकारका गलत क्रियाकलापको विरोधमा गर्ने बताए । अर्को प्रसंगमा नेता श्रेष्ठले राणा र पञ्चायतले मेटाउन नसकेको कांग्रेसलाई मेटाउने सपना नदेख्न सरकारलाई चेतावनी पनि दिए । उनले सरकार सबैलाई समेटर लानुपर्नेमा आफ्नो अधिनायवाद लाद्न अभिप्रेरित भैरहेकोले सरकारको यस्तो कुचेष्टालाई सफल हुन नदिने चेतावनी दिए ।
सो कार्यकर्ता भेटघाटको क्रममा जिल्ला सभापति अग्नीप्रसाद पौडेलले स्थानीय तहमा पनि नेकपाबाट विजयी भएकाहरुले एकलौटी तवरले आफ्ना नजिकका कार्यकर्ताहरु पोस्ने गरी उपभोक्ता समिति बनाएर वजेट विनियोजन गरेको आरोप लगाए । सभापति पौडेलले स्थानीय तह सबैलाइृ समेटेर जानुपर्नेमा पार्टीकरण गरिरहेकाले अब नेपाली कांग्रेसले अन्य साना दलहरुलाइृ समेटेर विरोधमा उत्रने जानकारी गराए ।
सो अवसरमा पार्टी सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्य कमोठ फागो, अम्विका परियार, क्षेत्रीय सभापति जितेन्द्र रुम्दाली, क्षेत्रीय सचिव खड्ग लिम्बु, कोषाध्यक्ष निरुपा राई, तरुण नेता प्रेम राई, तरुण दलका जिल्ला उपाध्यक्ष धिरज साङ्बो लामा, कांग्रेस साँगुरीगढीका नेता यमवहादुर मगरलगायतले सुझाव दिएका थिए । उनीहरुले केन्द्रिय सरकार तथा स्थानीय तहहरुले गरेको जनविरोधी कार्यको जनस्तरबाटै भण्डारफोर गर्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले कांग्रेसबाट विजयी भएका वडाध्यक्षहरुले जनताको चाहना र आवाश्यकता बुझेर विकास निर्माण संचालन गर्नु पर्ने सुझाव दिए ।
सो अवसरमा साँगुरीगढी ६ का वडाध्यक्ष तथा नेपाली कांग्रेस भेडेटारका सभापति दिपक र वडा नं. ५ डाँडाबजारका वडाध्यक्ष पलक बस्नेतले आफु जनचाहनाअनुसार काम गर्न क्रियाशील रहेको बताए । यस्तै राजारानीमा आयोजित कार्यक्रममा कांग्रेस चौविसे गाउँपालिका सभापति बिजु राई, निर्वाचित वडा सदस्य हर्कमाया राई लगायतका नेता तथा कार्यकर्ताहरुसँग नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएको सचिव विजयसन्तोषी राईले बताए ।