परेवादिन स्वास्थ्य चौकी सिधुवामा आयोजित निःशुल्क क्यान्सर परिक्षण शिविरमा बृहत् क्यान्सर रोग परिक्षण सम्पन्न भएको छ । सो परिक्षण नेपाल अर्बुद रोग निवारण संस्थाले छथरजोरपाटी गाउँपालिकाको सहयोगमा आयोजित शिविरमा गरिएको थियो ।
सो शिविरको प्रमुख अतिथि नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रिय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (ईश्वर) ले रिवन काटी शुभारम्भ गरेका थिए । सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले अहिलेको प्रदुषण, कृषिमा विषादी प्रयोग जस्ता कारणले नेपालमा क्यान्सर रोग बढिरहेको बताए । उनले अहिले बाल्यकालदेखि जंक फुडको प्रयोगले सानै उमेरमा पनि क्यान्सर रोग बढ्नुमा प्रमुख कारण रहेको बताए । उनले यस्ता तयारी जंक फुडको प्रयोग नगर्न र नगराउन सबैमा आग्रह गरे ।
प्रमुख अतिथि श्रेष्ठले क्यान्सर रोग समयमै परिक्षण गरे बच्न सकिने जानकारी दिए । उनले महिलाहरुले पाठेघरको मुखको परिक्षण गरेमा १०–१५ वर्ष अगाडिको परिवर्तन बारे थाहा हुने हुँदा परिक्षण गर्न आग्रह गरे ।
सो शिविर कार्यक्रमको अध्यक्षता छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले गरेका थिए । उनले ग्रामीण क्षेत्रमा यस्ता रोगहरुको परिक्षण गर्ने सेवा उपलब्ध नहुदाँ समयमै रोग लागेको थाहाँ नहुदाँ रोगी बढ्दै गएको बताए । उनले यस्ता शिविरबाट महिलाहरुमा हुने क्यान्सर समयमै पत्ता लगाई उपचार गर्न सकिने हुँदा यस किसिमका कार्यक्रमहरु भविष्यमा पनि आयोजना गर्ने बताए ।
सो अवसरमा गाउँपालिका उपाध्यक्ष भीमकला श्रेष्ठले क्यान्सर उपचार महंगो र शहर केन्द्रित भएकाले ग्रामीण क्षेत्रका जनता विना उपचार मरिरहेको बताईन । उनले यस्ता शिविरले राहत मिलेको बताईन । प्रमुख प्रशासकिय अधिकृत केशव प्रसाद अर्यालले शिविर उपलब्धीमूलक भएको बताए ।
सो शिविर कार्यक्रमको संचालन स्वास्थ्य शाखा सह–संयोजक दिनप्रसाद दुलालले गरेका थिए । कार्यक्रमका स्वागत मन्तव्य स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले गरेका थिए । शिविमा भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. प्रभु शाह, स्त्री रोग विशेषज्ञ डा. उषा बादे श्रेष्ठ र डा. मुना कार्कीलगायत १८ जना टोलीले परिक्षण गरेका थिए । सो शिविरमा तीनसय ५० जना महिलाहरुको प्याप स्मेयर परिक्षण गरिएको थियो । जसमध्य २० जना महिलाहरुमा रिङ प्रेसरी राखिएको शाखा प्रमुख सुन्दरमान डंगोलले जानकारी दिए । सो अवसरमा दुईसय जना पुरुषहरुको पनि सामान्य क्यान्सर रोग परिक्षण गरिएको थियो । यसका साथै सगरमाथा बोर्डिङ र सरस्वती माविमा विद्यार्थीहरुलाई सामान्य क्यान्सर, स्तन क्यान्सर र सुर्तीजन्य पदार्थकाबारे सचेतना कार्यक्रमको आयोजना गरिएको थियो ।
शिविर हिजो मूलघाटस्थित धार्मिकस्थल विश्रान्तीबाट शुभारम्भ गरिएको छ । यहि क्रममा भोली १० गते धनकुटा नगरपालिका वडा नं. ३ वडासमितिको आयोजनामा कागतेमा आयोजना गरिने वडाध्यक्ष विकास घिमिरेले जानकारी दिए । यस्तै पर्सी ११ गते बुधवारका दिन जिल्ला अस्पतालमा आयोजना गरिने स्थानीय आयोजक नेपाल अर्बुद रोग निवारण संस्थाका जिल्ला अध्यक्ष कमलप्रसाद श्रेष्ठले जानकारी दिए ।