धनकुटा १९ बैसाख ।
धनकुटालाई प्रादेशिक राजधानी बनाउन प्रदेश सांसदहरुलाई मतदान गर्न अनुरोध गर्न आयोजित प्रचारात्मक जुलुस तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेशको राजधानी धनकुटालाई किन बनाउने भन्ने कारणसहित प्रदेश सभाका सबै ९३ जना सांसदहरुलाई जुलुसमार्फत आग्रह गरिएको छ ।
धनकुटा प्रदेशका सबै जिल्लासँग सडक सञ्जाल भएको एकमात्र जिल्ला हो । यसका साथै हावापानी, भौतिक पूर्वाधार, सुरक्षा तथा समानुपातिक विकासका लागि धनकुटा राजधानी बनाउन उपयुक्त हुने अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले बताए । जुलुसले धनकुटा बजार परिक्रममा गरेका थिए ।
जुलुस पछि पत्रकार महासंघको सभाहलमा धनकुटा प्रादेशिक राजधानी परिचालन समितिका संयोजक सुन्दर बाबु श्रेष्ठको अध्यक्षतमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रमम उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, उपाध्यक्षद्वय सिताराम श्रेष्ठ, मनकुमारी तितुङ, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, अभियान्त सुजनभाई जोशी, भूतपूर्व सैनिक संघका अध्यक्ष धनबहादुर खड्का, स्थानीय सत्यनारायण श्रेष्ठ, बालानन्द भुर्तेल, मनोज जोशी, होमप्रसाद अधिकारी लगायतले मन्तव्य राखेका थिए । उनीहरुले प्रदेश सरकारले यातायातको कार्यालय राख्ने गरेको निर्णयको स्वागत गर्दै राजधानीको दौडमा धनकुटासमेत रहेकोले स्थायी राजधानी घोषणा अघि सम्पर्क कार्यालयको औचित्य नभएको बताएका थिए ।
सो अवसरमा अभियान समितिका अभियान्तहरु शंकर दाहाल, सावित्रा बान्तवा, सरोज श्रेष्ठ, आङदावा शेर्पा, कुमार श्रेष्ठ, मञ्जु आर्चाय, दुर्गा सिवा, सुजित प्रधान, राजेन्द्र श्रेष्ठलगायत विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरुले आगामी २१ गते बृहत् रुपमा सभा आयोजना गर्नु पर्ने धारणा राखेका थिए ।
बैशाख २१ गते प्रदेश सांसदलाई धनकुटाको पक्षमा मतदान गर्न आग्रह गर्न बृहत् सदभावना जुलुस गर्ने निर्णय भएको अभियान समितिका सदस्य विजयसन्तोषी राईले जानकारी दिए । सो जुलुसलाई सफल बनाउन आम धनकुटेलीहरुलाई अनुरोध गर्ने समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए ।