धनकुटा ।
नापी कार्यालयको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा भू—उपयोग नक्सा, डिजिटल डाटा तथा रिपोर्ट हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा नापी अधिकृत इ. शिखर पोखरेलले भू उपयोग सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले जिल्लाका सातैवटा स्थानीय तहको भू धरातलीय अवस्थाका वारेमा जानकारी दिएका थिए ।
इ. पोखरेलले जिल्लाको योजना बनाउँदा भू उपयोग नीतिलाई अवलम्वन गरी गर्न सकिए सरकारको धेरै लगानी खेर जानबाट रोकिने जानकारी दिए । उनले जिल्लाका भूधरातली अवस्थाका वारेमा जानकारी दिदै कुन क्षेत्र कृषिका लागि उपयुक्त, कुन क्षेत्र जोखिमयुक्त र कुन क्षेत्रमा वस्ती विकासका लागि सम्भावना रहेको छ भन्ने वारेमा जानकारी दिए ।
सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंक चुवानले सरकारको गलत नीतिले कृषियोग्य उर्वर भूमिमा वस्ती विस्तार भैरहेकोले कृषि उत्पादनमा कमी आएको बताए । उनले काठमाडौं उपत्यका तथा तराईका उर्वरभूमि कृषि उपयोगका लागि प्रयोग गरिएको भए देश खाद्यान्नमा आत्मनिर्भर हुने जानकारी दिए । प्रमुख चुवानले उर्वरभूमिमा शहरिकरण भएकै कारण खाद्यान्न आयात गर्नुपर्ने अवस्था आएको बताए । उनले स्थानीय तहले पनि आगामी दिनमा योजना बनाउँदा भू उपयोग नीतिलाई अंगिकार गरेर गर्न सुझाव दिए ।
सो अवसरमा नापी तयार गरिएको सातै स्थानीय तहका नक्सा सम्बन्धित स्थानीय तहका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले नेपालमा भूउपयोग नीतिअनुसार योजना नबनाएकै कारण डाँडाडाँडामा घर निर्माण गरिएकाले आमजनतालाई सेवासुविधा उपलब्ध गराउन महंगो भएको प्रतिक्रिया दिए । उनले यो नीतिबमोजिम योजना बनाएर जान सकिए जोखिम न्युन हुने भएकाले क्षति कम व्यहोर्नु पर्ने अवस्था आउने बताए । उनले हिजोको गल्तीबाट पाठ सिक्दै आगामी दिनमा योजना बनाउँदा यो नीतिलाई अवलम्बन गर्न स्थानीय तहलाई अनुरोध गरे ।
नापी कार्यालयका प्रमुख मिथिलेस यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उनले अहिले तयार गरिएको नक्सा पहिलो चरणको भएको र आगामी दिनमा थप जानकारी दिने गरी नक्सा तयार गरिने जानकारी दिए । उनले स्थानीय तहलाई यो नक्सा अनुसार योजना निर्माण गर्न आग्रह गरे ।
कार्यक्रमको सञ्चालन कार्यालयका कर्मचारी गोविन्दप्रसाद पन्तले गरेका थिए । सो कार्यक्रममा छथरजोरपाटी गापाका अध्यक्ष शेरबहादुर लिम्बु, सहिदभूमि गापाका अध्यक्ष मनोज राई, चौविसे गापाका अध्यक्ष खजिद्यन्र राई, सहिदभूमिका उपाध्यक्ष रत्नेश्वरी राई, चौविसेका उपाध्यक्ष यज्ञकुमारी रुचाल, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर थापामगरलगायत महालक्ष्मी नगरपालिकाका, छथरजोरपाटीका, सहिदभूमिका प्रमुख प्रशासकीय अधिकृतहरुलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य जिससका अधिकृत सिताराम गौतमले गरेका थिए ।