धनकुटा । वर्तमान सरकारको क्रियाकलाप वोली एउटा व्यवहार अर्कै भएको भन्दै सयौ सत्ता पक्षका युवा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली कांग्रेसका युवा नेता गगन थापाले बेलहारामा आयोजित एक कार्यक्रमका वीच प्रवेश गराएको कांग्रेस धनकुटाका कोषाध्यक्ष तथा पार्टी प्रवेश कार्यक्रम समन्वय समितिका संयोजक दिनेश राइले जानकारी दिए ।
सो अवसरमा युवानेता थापाले कांग्रेस सबैलाई धनि बनाउने पार्टी भएको भन्दै युवाको भविष्य नेपाली कांग्रेसमा मात्र रहेको बताए । उनले सरकारले वाक स्वतन्त्रताविरुद्ध ऐन ल्याउन तयारी गरिरहेको भन्दै त्यसका विरुद्ध आन्दोलन गर्न आग्रह गरे ।
बेलहारा डाँडामा आयोजित कार्यक्रममा नेकपा परित्याग गरी राजेन्द्र खत्री, किरण तामाङ, दिपक तामाङ, मोहन तामाङलगायत धनकुटा नगरपालिकाका वडा नं. ९,ंं ६ र ७ का गरी जम्मा ४ सय ७६ जना कार्यकर्ता नव प्रवेशीहरुलाई नेता थापाले स्वागत गर्दै नेपाली कांग्रेसको सदस्यता प्रदान गरेका थिए ।
सो अवसरमा धनकुटा कांग्रेसका सभापति अग्नीप्रसाद पौडेल, १ नम्वर प्रदेश सभा सदस्य लीला सुब्बा, महासमिति सदस्य आनन्दसन्तोषी राई, उपसभापति नवीनकिशोर शाक्य, सचिव विजय सन्तोषी राईलगायतले अविर टिका तथा माला लगाई स्वागत गरेका थिए ।
नेपाली कांग्रेस बेलहाराका सभापति प्रेम खत्रीको सभपातित्वमा सम्पन्न कार्यक्रमको संचालन इश्वरी सुवेदीले गरेका थिए । नेकपाको दुई तिहाईको सरकार र धनकुटामा सातै स्थानीय तहमा विजयी भएपनि कांग्रेस पार्टीमा प्रवेश गर्नेहरुको संख्या बढिरहेको जिल्ला सचिव विजयसन्तोषी राईले जानकारी दिए । उनले पाख्रिवास नगरपालिकामा पनि ३ सय ४७ जनाले नेकपा लगायत पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेको जानकारी दिए ।