धनकुटा । शहीद भीमनारायण श्रेष्ठको ४१ औं स्मृति दिवस शहीद श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै मनाईएको छ । सो अवसरमा सिरानवजार भिमनारायण चोकस्थित शहीद श्रेष्ठको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
शहीद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा शहीदपुत्र मनोजनारायण श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला उपसभापति नवीन किशोर शाक्य, सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, शिक्षक संघ प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना, तरुण दलका पूर्वअध्यक्ष विश्वप्रकाश श्रेष्ठ, धनकुटा नगरपालिकाका जननिर्वाचित वडाध्यक्षहरु नरेश श्रेष्ठ, धनकुमार राई, वडासदस्य गोविन्द राई, पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, प्रेस युनियनका अध्यक्ष हिमा चेम्जोङ, नेविसंघ धनकुटा क्याम्पसका अध्यक्ष करुणा कटुवाल, नागरिकसमाजका अध्यक्ष दोर्ण गुरागाई, शहीद रामकृष्ण प्रतिष्ठानका उपाध्यक्ष सत्यनारायण श्रेष्ठ, समाजसेवी रामनारायण श्रेष्ठ, पूर्व वडासदस्य गीता श्रेष्ठलगायतले शहीद श्रेष्ठ प्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा महासचिव रोशन श्रेष्ठले कार्यक्रमको संचालन गरेका थिए । सो अवसरमा शहीद श्रेष्ठको जीवनि माथि कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राईले प्रकाश पारेका थिए ।
सो अवसरमा नेपाल प्रेस युनियनले वार्षिक रुपमा जिल्लाका एक जना क्रियाशील पत्रकारलाई शहीद भीमनारायण श्रेष्ठ पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । सो पुरस्कारको राशी ११ हजार एक सय ११ रुपैया हुने युनियनका अध्यक्ष हिमा चेम्जोङले जानकारी दिईन् ।
देशमा लोकतन्त्र स्थापना गर्न क्रियाशील शहीद श्रेष्ठलाई विसं २०३० सालमा विराटनगरमा भएको बम विस्फोटको मुख्य आरोपीका रुपमा तत्कालीन पञ्चायती सरकारले पक्राउ गरी चरम यातना दिइ मृत्युदण्डको घोषणा गरेका थियो । शहीद श्रेष्ठलाई सोहि आरोपमा २०३५ साल माघ २६ गते कोशी नदीस्थित भिम नहरमा गोली हानी हत्या गरेका थिए । शहीद श्रेष्ठका पत्नी लक्ष्मीदेवी श्रेष्ठ दुई छोरा मनोजनारायण र मनोहरनारायण तथा दुई छोरीहरु ममता र बबिता छन् ।
शहीद श्रेष्ठको नाममा शहीद भिमनारायण गोल्डकप फुटवल प्रतियोगिता २०५५ सालदेखि सञ्चालन भैरहेको छ ।