धनकुटा : महालक्ष्मी नगरपालिकामा मंगलबार संयुक्त लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यक्रमलाई एमाले नेता कार्यकर्ताले बिथोल्ने प्रयास गरेको गठबन्धनले आरोप लगाएको छ।
गठबन्धनले मंगलबार महालक्ष्मी नगरपालिका वडा नं २ मा कोणसभा कार्यक्रम तय गरेको थियो । कोणसभा हुने स्थानमा आएर एमाले नेता कार्यकर्ताले कार्यक्रम बिथोल्न खोजेको गठबन्धनका नेता कार्यकर्ताले बताए । त्यसरी कार्यक्रम बिथोल्न आएका एमाले नेता कार्यकर्तालाई सम्झाइ बुझाइ पठाइएको प्रहरीले जनाएको छ ।
गठबन्धनतर्फबाट महालक्ष्मी नगरपालिकामा मेयरका उम्मेदवार कांग्रेस नेता ध्रुवराज रायले आफूले कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा एमाले कार्यकर्ताहरु नियोजित रुपमा आएर कार्यक्रम बिथोल्न खोजेको बताए।
उनले भने‚ ‘नगरमा एमालेको पनि मोटरसाइकल र्याली रहेछ। र्यालीमा हिँडिरहेका एमाले नेता कार्यकर्ता हामीले कार्यक्रम गरिरहेको स्थलभन्दा केही पर आएर एकछिन रोकिएर मैले कार्यक्रमलाई सम्बोधन गर्न थालेपछि आएर बिथोल्न खोजेका थिए।’ कार्यक्रम बिथोल्ने प्रयास गरेका एमाले कार्यकर्ताले दाउरा टिपेर प्रहार गर्न खोजेको गठबन्धन नेता कार्यकर्ताले आरोप लगाएका छन्। जुन भिडियो आफूहरूसँग रहेको उनीहरूको भनाइ छ।
यता नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष इन्द्रमणि पराजुलीले भने यो आरोप गलत भएको बताए। उनले गठबन्धनले बाटो अवरोध गरेर कार्यक्रम गरेको र सोही बाटो भएर एमाले कार्यकर्ता पनि मोटरसाइकल र्याली लिएर आउँदै गर्दा बाटो अवरोध गरेकै निहुँमा सामान्य ठेलमठेल भएको बताए।