धनकुटा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको नजिकिएसँगै उम्मेदवारहरु आम मतदाताहरुको घरआँगनमा मत माग्न व्यस्त छन् । अहिले लोकतान्त्रिक वाम गठबन्धन र एमाले अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रवेश गराउन क्रियाशील भईरहेका छन् ।
एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटा जिल्लामा संघको निर्वाचनमा ९ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेहरुमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रिय सम्पादन समिति सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापा रहेका छन् । यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट केन्द्रिय सदस्य तथा निवर्तमान सांसद राजेन्द्र राई रहेका छन् । यस्तै स्वतन्त्रबाट माओवादी केन्द्रबाट विद्रोह गरेका हेमराज भण्डारी रहेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष कुमार बहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आराम कुमार लिम्बू, मंगोल नेशनल अर्गनाइजेशनका विश्वमित्र लावती र एकीकृत शक्ति नेपालका रमेश राई चुनावी मैदानमा छन् ।
रोचक कुरा चाहिँ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता थापा र एमालेका उम्मेदवार राई वीच यो तेस्रो पटकको भीडन्त हो । अघिल्लो दुई पटकको भीडन्तमा दुवै जनाले एक÷एक पटक विजयी हासिल गरिसकेका छन् ।
यो पटकको निर्वाचनको मुख्य प्रतिस्पर्धा पनि यि दुई उम्मेदवारवीच हुने आकलन गरिएको छ । तर, यसवीच स्वतन्त्र उम्मेदवारी दिएका संविधान सभा सदस्य तथा माओवादीका पूर्व केन्द्रिय सदस्य भण्डारीले पनि कडा टक्कर दिने सम्भावना रहेको देखिन्छ ।
यसका साथै राप्रपाका जिल्ला अध्यक्ष कुमारबहादुर थापाको उम्मेदवारीले ठूला दलको विजयमा अवरोध गर्न सक्ने सम्भावना देखिन्छ ।
यो निर्वाचनबाट नेपाली कांग्रेस २०१५ सालपछि गुमेको जित पहिलो प्राप्त गर्न खोजेका छन् । नेपाली कांग्रेसकै नेतृत्वमा देशमा ४६ को जनआन्दोलन सफलतापूर्वक सम्पन्न भयो । तर, त्यसपछि भएको ६ वटा प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेसले एक पटक पनि विजय हासिल गर्न सकेको छैन । यो पटक भने कांग्रेस इतिहास रच्न चाहन्छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एउटा पालिका पनि जित्न नसकेको कांग्रेस ७ सालको स्थानीय तहको निर्वाचनमा गठबन्धन गरी ४ वटा पालिकाको नेतृत्व जित्न सफल भएको छ । यसबाट पनि कांग्रेसमा जित्ने सम्भावना बढेको दावी गरिरहेका छन् ।
यस्तै नेकपा एमाले धनकुटा लामो समयदेखि आफ्नो लागि लालकिल्ला भएको ठान्दै आएका छन् । गणतन्त्र आएपछि २०६५ मा भएको पहिलो संविधान सभाको निर्वाचनमा दुवै क्षेत्र नेकपा माओवादीले जितेका थिए । त्यो निर्वाचनमा बाहेक एमाले जिल्लामा एक पटक पनि खाली हुन परेको छैन । एमालेले देशमा बहुदलीय व्यवस्था आएदेखि जिल्लामा एकाधिकार जस्तो बनाईरहेका थिए । यस्तो अवस्थामा एमालेलाई आफ्नो लालकिल्ला जोगाउन चाहन्छन् ।
यस्तै एक सिट रहेको धनकुटा गठबन्धन दलले कांग्रेसलाई दिने भएपछि माओवादीमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका भण्डारी पनि आफु जितको नजिक रहेको बताउँछन् । लोकतन्त्र आएपछि दलहरुको क्रियाकलापले जनताको मन जित्न नसकेकोले जनता स्वतन्त्र उम्मेदवारको पक्षमा रहेको बताउँछन् । काठमाडौं महानगर र धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवारहरुको जित यसैको परिणाम भएको मान्दछन् ।
अर्कोतिर राप्रपाका उम्मेदार थापा आफु सूर्यबहादुर थापाको विरासत थाम्न उम्मेदवारी दिएको बताउँछन् । उनी धनकुटा निर्माण्मा सूर्यबहादुर थापाको योगदानको धनकुटेली जनताले उचित मूल्यांकन गर्ने विश्वास जनाए ।