आउँदो मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिएसँग उम्मेदवारहरु मतदाताहरुको घरआँगनमा भोट माग्न व्यस्त छन् । यसैविच एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटाको प्रतिनिधिसभाका लागि लोकतान्त्रिक वाम गठबन्धनका तर्फका उम्मेदवार हुनुभएका नेपाली कांग्रेसको केन्द्रिय सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापासँग लिएको संक्षिप्त कुराकानीको अंश ः
अहिले जनताको घरआँगनमा भोट माग्न व्यस्त हुनुहुन्छ । जनताबाट कस्तो खालको प्रतिक्रिया पाईरहनु भएको छ ?
अहिले निर्वाचनमा मेरो उम्मेदवारीले धनकुटेली जनतामा केहि आशाको सञ्चार भएको पाएको छु । म माथि विश्वास र भरोसा गरेको पाएँ । हिजो आफुले निर्वाचित गराएर पठाएका जनप्रतिनिधिहरुले निर्वाचनताका गरेका वाचाहरु कुनै पनि पुरा नगरेको भन्दै जनतामा आक्रोशित बनेका रहेछन् । म जिल्लाका सबै वडा र गाउँटोल गएको छु, त्यहाँ अब तपाई निर्वाचित भएर हाम्रो चाहना पुरा गर्नु पर्छ भनिरहनु भएको छ । उहाँहरु हिजो गरेको गल्ति नदोहो¥याउने भन्दै हुनुहुन्छ ।
तपाई लामो समय संयुक्त राष्ट्र संघमा काम गर्नु भयो । अब रिटायर्ड लाईफ काठमाडौंमा आफ्ना परिवारजनसँग आरामसँग विताउन छाडेर यो दुःख पाउने राजनीतिमा कसरी आकर्षित हुन भयो ?
पहिलो कुरा त आफु जन्मेको ठाउँका आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु दुःख कष्टमा जीवन विताई रहनु भएको छ भने जतिसुकै सुविधा सम्पन्न शहरमा आरामसँग बस्नु भएपनि तपाईलाई चैनको निन्द्रा लाग्दैन । हो, मलाईपनि त्यस्तै भएर धनकुटाको आर्थिक उन्नयन, विकास, प्रगतिका लागि यो राजनीतिमा होमिएको हुँ । अर्को कुरा सायद राजनीति हाम्रो परिवारको रगतका कण कणमा बसेको भएर पनि होला कि ?
एक पटक विजयी हुनु भयो र अर्को पटक पराजय हुनु भयो । अब तपाई यो निर्वाचनमा विजयी हुनेमा कतिको आशावादी हुनुहुन्छ त ? र, कसरी ?
पहिलो कुरा धनकुटेली जनता सबैले मलाई अब तपाई हाम्रो काम गर्ने नेता हो, त्यसैले तपाई प्रति हाम्रो पूर्णविश्वास रहेकोछ भन्नु भएकोले पनि म विजयी हुनेमा पूर्ण आशावादी बनेको छु । किनकी हिजो विजयी हुनु भएका जनप्रतिनिधिहरुले जनचाहना अनुसार विकास निर्माणका काम नगरेको र कोरोनाको महामारीको समयमा पनि जनतालाई भरोसा जगाउन नसकेको आरोप छ । त्यस समय मैले आफुले सकेको स्वास्थ्य सुरक्षाका सामग्री ल्याएर वितरण गरेका धनकुटेली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा छर्लङ्ग छ । अर्कोतिर म पदमा नरहदाँ पनि जिल्ला अस्पतालका लागि जापानी दुतावासको समन्वयमा अक्सिजन प्लान्ट स्थापना र आँखा अस्पतालमा शल्यक्रियाका लागि हिमालयन बैंकमार्फत अत्याधुनिक फेको मेशिन ल्याउन पहल गरेको, भारतीय राजदूतावास मार्फत एम्बुलेन्सको व्यवस्था गरेको आम धनकुटावासी दाजुभाई तथा दिदीबहिनीहरुले बुझ्नु भएकै छ ।
यस्तै म मन्त्री हुँदा ऋणमा डुबेको नेपाल आयल निगमको करिव ३३ अरब ऋण चुक्ता गरी सञ्चित कोषमा समेत रकम राख्न सफल भएँ । दक्षिण एसियाकै पहिलो अन्तर्राष्ट्रिय पेट्रोलियम पाइपलाईन सम्झौता गरेँ जसका कारण बार्षिक करिब २ अर्ब चुहावट रोकिएको छ । यो राष्ट्रको लागि ठूलो उपलब्धी हो । साथै लोकतन्त्र स्थापनाका लागि छिन्ताङ र विभिन्न कालखण्डमा मारिएका सहिदहरु लाई राष्ट्रिय सहिद घोषणा गराउन पनि सफल भएको स्पष्ट छ ।
आफु सांसद रहँदा धनकुटामा ठूलो परिणाममा सडक, बिजुली, खानेपानी, सिंचाइ, शिक्षा, स्वास्थ्य र आत्मनिर्भर हुने कार्यक्रमहरुमा बजेट ल्याउन सफल भएको जग जाहेरै छ । धनकुटाको विकासका लागि कुनैपनि कसर बाँकी नराखी समृद्ध धनकुटा बनाउन म निरन्तर लागि रहने प्रण गर्दछु ।
धनकुटा जिल्ला नेकपा एमालेको लालकिल्लाका रुपमा स्थापित जिल्ला हो । अघिल्लो निर्वाचनमा तपाईलाई १० हजार हाराहारी फरकमा जितेका थिए । यस्तो अवस्थामा तपाईले जित्ने आधारहरु चाहिँ के के हुन त ?
२०७४ सालको स्थानीय तह तथा प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा एमालेले सबै सिटमा विजयी हासिल गरेको म स्विकार गर्छु । तर, यो कार्यकालमा एमालेले जनचाहना अनुसारको विकास निर्माण र आवश्यकता पुरा गर्न सकेन् । उनीहरुले दुवै निर्वाचनताका व्यक्त गरेका प्रतिवद्धता पुरा नै गरेनन् । त्यहि कारण २०७९ बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा ७ पालिकामा ४ पालिका गठबन्धनले जित्न सफल भयो । त्यहि नै मैले जित्ने पहिलो आधार हो ।
यस्तै मैले जित्ने दोस्रो आधार भनेको म जहाँ जान्छु, जनताले मप्रति देखाउनु भएको विश्वास र भरोसा हो । म जहाँ गए, जनताबाट अपार माया र स्नेह पाएको छु । हिजो हामीले चुन्न गल्ति गरेछौ भन्दै यसपाली त्यस्तो गल्ती नदोहो¥याउने प्रतिवद्धता देखाईरहनु भएको छ । यो दोस्रो आधार हो, मैले जित्ने ।
यस्तै अघिल्लो निर्वाचनमा १० हजारको फरकमा पराजय हुदाँ म राप्रपाको उम्मेदवार थिए । राप्रपा को जिल्लाव्यापी सञ्जाल र संगठन पनि कमजोर थियो । अहिले म नेपाली कांग्रेसको टिकटबाट गठबन्धन तर्फको उम्मेदवार बनेको छु । त्यतिखेर एमाले एकजुट थियो र माओवादी केन्द्रसँग सहकार्य गरेका थिए । अहिले माओवादी र हाम्रो गठबन्धन छ । यस्तै एमाले पनि विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएको छ, जो हामीसँग गठबन्धनमा छ । यो अर्को ठूलो आधार हो ।
यस्तै एमालेको जनप्रतिनिधिहरु गफ ठूला ठूला गर्ने तर काम भने खासै नगर्ने नै मेरो जित्ने अर्को आधार हो । अरु कुरा गर्छन म काम गरेर देखाउने खालको मान्छे हुँ भन्ने कुरा सबैलाई स्पष्ट भैसकेको छ । धनकुटावासी धनकुटालाई बनाउन सक्ने अभिभावकत्व दिनसक्ने क्षमता म मा देखिरहनु भएको छ ।
तपाई धनकुटामा त्यति नबस्ने, खोजेको समयमा भेट्न नसकिने टुरिष्ट नेता भएको पनि आरोप छ नी ? यसमा के भन्नु हुन्छ ?
म कसरी टुरिष्ट नेता भए ? के मैले धनकुटाको घरजग्गा बेचेर गएको छु ? म यहि मुगामा जन्मेको हुँ । द्वन्द्वकालमा ध्वस्त मेरो घर पुनर्निर्माण गर्ने प्रक्रियामा छ । त्यसो त ति आरोपीहरुकै पनि इटहरी, विराटनगर र काठमाडौं तिर भव्य महल ठडिएका तपाईलाई पनि थाहा होला त ? अहिले म, सुविधा सम्पन्न, आरामदायी जीवन बिताउन पनि सक्थेँ । तर, मैले त्यो सुखसयल र आरामदायी जिन्दगी नरोेजेर म जन्मेको ठाउँको विकास, सुविधा र सम्पन्नताका र त्यहाँको जनताको दुःख देखेर सुखी बनाउनको लागि यो सबै गरिरहेको छु । मेरो आत्माले सुख हुनको लागि ति सबै दुःखी गरीब र निमुखा वर्गको जीवनस्तर बृद्धी हुँदा मात्र मेरो मन खुशी हुन्छ । त्यो नै मेरो स्वर्गीय आनन्द हो । त्यसको लागि म सँधै लागि रहने छु । म धनकुटाको हरेक आपत विपतमा साथमा हुन्छु । चाहेँ कोरोनाको महामारीमा होस् वा कुनै दैविप्रकोपमा होस्, म पदमा नरहाँ पनि यस्ता विपतमा पर्नुभएका धनकुटाका जनताको साथमा सधै रहिरहेको सबैलाई जानकारी नै भएको कुरा हो ।
र, रह्यो धनकुटामा त्यति नबस्ने आरोप । म काठमाडौंमा बस्दा पनि आराम गरेर सुखसयलमा बसिरहेको छैन । कोहि धनकुटेली उपचारका लागि काठमाडौं आएर समस्या पर्दा होस् वा अन्य कारणले समस्यामा परिरहनु भएकोछ भने उहाँहरुलाई सहयोग गरिरहेकै हुन्छु ।
खै सहिदको नाममा राजनीति गरिरहनु भएकाहरुले त्यहि सहिदभूमिमा एउटा एम्वुलेन्ससम्म राख्न सक्नु भएन त ? यस्तै यस्तै कामका लागि पनि राजधानीमा बस्न आवश्यक छ । म धनकुटालाई आवश्यकता पर्दा सधै सशरीर उपस्थिति भएकै छु ।
तपाईलाई धनकुटालाई प्रदेशको राजधानी बनाउन नसक्नु भएको आरोप छ नी ?
त्यो आरोप सरासर झुट हो । पहिलो कुरा म त्यतिखेर सानो दल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित सांसद थिए । र, त्यतिबेला हाम्रो पार्टी कमजोर थिए । हाम्रो आवाज सशक्त रुपमा लिईदैन थियो । त्यहि भएर म कांग्रेस प्रवेश गरेको छु ।
धनकुटा राजधानी हुनुपर्छ भनेर धनकुटा र काठमाडौंमा आन्दोलन चलिरहेका थियो । त्यसमा म पनि धेरै पटक सहभागी भएको छु । तर, कतिपयलाई धनकुटा राजधानी हुनै सक्दैन भनेर आन्दोलनमा सहभागी भैरहेका थिएन । तरपनि आन्दोलन झन सशक्त बन्दै गएको सबै जानकार नै छ ।
त्यहि आन्दोलनको बलबुतामा धनकुटामा यातायात व्यवस्था कार्यालय, मुख्यमन्त्रीको सम्पर्क कार्यालय, शिक्षा र स्वास्थ्यको प्रदेशस्तरीय कार्यालय साथै शिक्षण अस्पताल घोषण गर्न सरकार वाध्य भयो । तर, एमालेको केन्द्र र प्रदेश सरकार प्रचण्ड बहुमत हुदाँ पनि शिक्षण अस्पतालकालागि आएको करोडौं वजेट खर्च गर्न नसकेर फिर्ता पठायो । यस्ता आफ्ना कमि कमजोरीहरु छोप्न पनि सायद मलाई आक्षेप लगाएका हुनसक्छ ।
यस्तै प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एमालेले धनकुटा नै राजधानी बनाउँछु भनेरै भोट मागेको हैन ? तीनवटै सिट एमालेले नै जितेको हैन र ? तर, प्रदेश सभामा धनकुटालाई राजधानी बनाउनु पर्छ भनेर प्रस्ताव राखे ? बरु उल्टै विराटनगरलाई राजधानी बनाउन धनकुटाका अन्य सांसदहरुलाई लविङसमेत गरेका थिए । यसरी सरासर एमालेले धनकुटावासीलाई धोका दिएको प्रस्ट छ । सायद यसैलाई ढाकछोप गर्न र जनतामा भ्रम छर्न पनि मलाई आरोप लगाएको हुनसक्छ ।
तपाई विजयी हुनु भयो भने धनकुटालाई समुन्नत बनाउने के के कार्ययोजनाहरु छन् त ?
हाम्रो नारा नै समुन्नत धनकुटा सम्मानित धनकुटेली रहेकोछ । यसका लागि हामीले के के गर्ने छौं भनेर हाम्रो संकल्प पत्रमा विस्तृत रुपमा उल्लेख गरेका छौं। हाम्रो त्यो संकल्पपत्र सपनाको ठेली भएर यथार्थमा काम गर्ने संकल्प हो ।
हामी हिजोका जनप्रतिनिधिहरु जस्तो विजयी भएपछि आफु मात्रै सर्वेसर्वा ठानेर हिड्दैनौं । धनकुटाको विकास निर्माणमा सबै दलका नेताहरु तथा जिल्ला र जिल्ला बाहिर रहनु भएका धनकुटेली हरुसँग समन्वय गर्ने छौं ।
धनकुटा पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिको सम्भावना भएको जिल्ला हो । धनकुटालाई समुन्नत बनाउन यि क्षेत्रहरुमा लगानी बढाउनु पर्छ । यसका लागि हामी जिल्लाभित्र र जिल्ला बाहिर रहनु भएका धनकुटेलीहरुलाई साथै अन्य व्यवसायीहरुलाई धनकुटामा लगानीका लागि आव्हान गर्दै लगानी सम्मेलन गर्ने छौं ।
अन्त्यमा धनकुटा वासीलाई तपाईंको भन्नु के हि छ की ?
अन्त्यमा आदरणीय सम्पूर्ण धनकुटाका मतदाता आमाबुवा दाजुभाई दिदीबहिनीहरुमा म विनम्र निवेदन गर्दछु की यहि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा स्वच्छ, चरित्रवान र तपाईंहरुको काम गर्ने सेवकको रुपमा म सुनिलबहादुर थापालाई रुख चिन्हमा र प्रदेश क को अर्जुन राईलाई कलम चिन्हमा साथै प्रदेश ख को कुसुम कुमारी श्रेष्ठलाई गोलाकार भित्रको हँसिया हथौडामा भोट दिई अत्याधिक बहुमतले विजयी गराई दिनुहुन हार्दिक अनुरोध गर्दछु । हामी निर्वाचित भएपछि तपाईंहरुको आशा र विश्वासलाई मनन गरी हिजोको धनकुटाको गौरव तथा धनकुटेलीको मान सान र इज्जतलाई थप अभिबृद्धि गर्ने कार्यमा हरदम क्रिाशील रहने छु ।