धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ५ स्थित डाँडाबजार प्राथमिक स्वास्थ्य केन्द्रमा डिजिटल एक्स–रे मेसिन जडान गरिएको छ ।साँगुरीगढी गाउँपालिकाको विशेष पहल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा उक्त डिजिटल एक्स–रे मेसिन जडान गरिएको हो ।
एक कार्यक्रमका वीच मंगलवार पालिका अध्यक्ष जितेन्द्र राईले उक्त एक्स–रे मेसिन स्वास्थ्य चौकीलाई हस्तान्तरण गरे ।
गतभदौंमा अध्यक्ष राईले स्वास्थ्य मन्त्री भवानी खापुङलाई मन्त्रालय पुगेर भेट गरि डाँडा बजार स्वास्थ्य चौकीमा डिजिटल एक्स–रे मेसिन उपलब्ध बारे माग पत्र वुझाएका थिए । सोही अनुरुप स्वास्थ्य चौकीमा डिजिटल एक्सरे मेसिन मन्त्रालयबाट उपलब्ध भएको अध्यक्ष राईले बताए । उनका अनुसार एक्स रे मेसिन उपलब्ध भएसँगै बिरामीलाई छिटो र छरितो स्वास्थ्य सेवा प्रदान गर्न सहज भएको छ ।
एक्स–रेको अनुमानित मुल्य २५ लाख रुपैया रहेको बताइएको छ । स्वास्थ्य चौकीमा भएको पुरानो मेसिन विग्रिएर थन्किएपछि स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको थियो । विरामी धरानसम्म पुग्नु पर्ने वाध्यता थियो ।
हस्तान्तरण कार्यक्रम साँगुरीगढी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष खड्गबहादुर लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।
उक्त केन्द्रबाट पालिका भरिका वुढिमोरङ, फाक्सिव, खुवाफोक, डाँडाबजार, चौविसे गाउँपालिकाको राजारानी, मौनावुधुक, वसन्तटार तथा मोरङ जिल्लाको केरावारी, पाटीगाउँ लगायतका क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्दै हुँदै आइरहेको छ ।