धनकुटा । दोस्रो साँगुरीगढी गाउँपालिका वडा स्तरीय भलिवल प्रतियोगिता–२०७९ को उपाधी वडा नं. ५ डाँडाबजारले जितेको छ ।
साँगुरीगढी गाउँपालिका वडा नं. ८ तातोपानी खेलमैदानमा सोमवार सम्पन्न फाइनल खेलमा वडा नं. ८ तातोपानीलाई २५–२२, २५–१९ र २५–२३ को सोझो सेटमा पराजित गर्दै डाँडाबजारले उपाधी हात पारेको हो ।
उपाधी सँगै डाँडाबजारले नगद ४५ हजार सहित ट्रफी र मेडल हात पार्यो भने उपविजेतामा सीमित तातोपानीले नगद २५ हजार सहित ट्रफी र मेडलमा चित्त वुझायो ।
डाँडाबजार प्रतियोगिताको साविक विजेता समेत हो । अघिल्लो वर्ष वडा नं. ९ को हर्दियामा सम्पन्न प्रतियोगिताको पहिलो संस्करणको उपाधि वडा नं. ८ तातोपानीलाई पराजित गर्दै डाँडाबजारले उपाधी जितेको थियो ।
पहिलो सेमिफाइनलमा खेलमा डाँडाबजारले वडा नं. ७ आसकोटलाई र तातोपानीले वडा नं. ६ नाम्जेलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुर लगायतले पुरस्कार वितरण गरेका थिए ।
८ नं. वडाका वडायक्ष हृदयनारायण प्रसाद राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन गाउँपालिकाका एमआइएस अपरेटर किशोर मञ्जुल काफ्लेले गरेका थिए ।
साँगुरीगढी गाउँपालिका स्तरीय खेलकुद विकास समितिको आयोजनामा संचालन भएको प्रतियोगितामा प्रत्येक वडाबाट एक/एक टिम गरी १० टिमको सहभागिता रहेको थियो । हरेक टिमलाई सहभागिता बापत नगद ५ हजार सहित एक सेटक जर्सी प्रदान गरिएको थियो ।