धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नंं ४ फाक्सिवमा जारि चौथो फाक्सिव गोल्डकप आमन्त्रित फुटवल प्रतियोगिताको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडा बजार फुटवल क्लव पुगेका छन् । शुक्रवार सम्पन्न सेमिफाइनल खेलमा विजयी हुँदै दुवै टिम फाइनलमा पुगेका हुन् । उपाधीका लागि यी दुई टीम विच शनिवार प्रतिस्पर्धा हुनेछ ।
शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हात्तिटार स्पोटिङ क्लव राजारानीले सिर्जनशील यूवा क्लव साँगुरीगढी–८ लाई २–१ गोलअन्तरले पराजित गर्यो । पहिलो हाफको अन्त्यतिर वुद्ध लिम्बुले गोल गर्दै रानारानीलाई अग्रता दिलाए । दोस्रो हाफको अन्त्यतिर सिर्जनशीलका कप्तान समेत रहेका सनम राईले गोल गर्दै खेल वरावरीमा ल्याए । थपिएको अतिरिक्त समयमा आशिष लिम्बुले गोल गर्दै राजारानीलाई अग्रता दिलाए । राजारानी २–१ गोल अन्तरले विजयी हुँदै फाइनल पुग्यो । उक्त खेलको म्यान अ द म्याच राजारानीका हेमन्त लिम्बु घोषित भए । उनले नगद १ हजार पाँच सय रुपैया प्राप्त गरे ।
त्यस्तै दोस्रो खेलमा डाँडाबजार फुटवल क्लवले चौविसे गाउँपालिका वडा नंं ७ को सिसिडिआइसी फुटवल क्लवलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै फाइनल पुग्ने दोस्रो टिम वन्यो । निर्धारित समय भित्र दुवै टोलीको २÷२ गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । निर्धारित समयमा डाँडाबजारको तर्फबाट सन्दिप लिम्बु र विवेक याखाले गोल गरेका थिए । भने मौनावुधुकको तर्फबाट अन्जन ठाकुरी र सुसिल राईले गोल गरेका थिए । खेलको म्यान अफ म्याच डाँडाबजारका सन्दिप लिम्बु घोषित हुँदै १ हजार ५ सय रुपैया नगद प्राप्त गरे ।
प्रतियोगितामा आयोजक फाक्सिव फुटवल क्लव सहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख सहित ट्रफी र मेडल, उपविजेता हुने टिमले नगद ५० हजार सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक फाक्सिव फु्टवल क्लवका अध्यक्ष पुजन आङ्ला लिम्बुले बताए । उनका अनुसार प्रतियोगिताको हरेक खेलमा म्यान अफ म्याच पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै सर्वोत्कृष्ट सहित विधागत पुरस्कारको व्यवस्था समेत गरिएको छ । प्रतियोगिता संचालनको लागि साँगुरीगढी गाउँपालिका, ४ नं. वडा कार्यालय र विभिन्न देश तथा विदेशमा रहेका फुटवलप्रेमी व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् ।