धनकुटा l धनकुटामा निवृत्त शिक्षकहरुको अनुभव आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। नेपाल निवृत्त शिक्षक समाज धनकुटाको आयोजनामा बिहीबार वनभोज तथा निवृत भएपछि र शिक्षण पेशामा रहँदाको अनुभव आदानप्रदान गरिएको हो।
धनकुटा नगरपालिका वडा नं. ६ स्थित धनकुटा एग्रो टुरीजम एण्ड फन भ्यालीमा आयोजित कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ धनकुटा प्रमुख मोहन राई, धनकुटा नगरपालिकाका पूर्व प्रमुख प्रशासकिय अधिकृत तथा धनकुटाका पूर्व जिल्ला शिक्षा अधिकारी रामबहादुर थापा, शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीका पूर्व प्रमुख रमेशबहादुर दाहाल, धनकुटाका पूर्व जिल्ला शिक्षा अधिकारी दामोदर दाहाल, नेपाल शिक्षक महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र भट्टराई लगायतले निवृत शिक्षकहरु अनुभवको खानी भएकाले सदैव अनुभव लिएर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा निवृत्त शिक्षक समाज धनकुटाका अध्यक्ष देवबहादुर खड्काले निवृत्त शिक्षकको हकहितको लागि संधै तत्पर रहेको बताउँदै धनकुटा यो संस्थालाई क्रियाशिल बनाउन सबैले हातेमालो गर्नुपर्ने बताए । उनले राज्यले शिक्षालाई प्राथमिकतामा नराख्दा शिक्षकलाई दोस्रो दर्जाको कर्मचारीमा राखेर विभेद गरेको गुनासो गरे ।
हरेक वर्ष गुरुपूर्णिमा निवृत्त शिक्षक दिवस मनाउने गरिएको छ । कार्यक्रममा धनकुटा जिल्लाभरिका निवृत्त शिक्षक, बहालवाला शिक्षक, विभिन्न संघ संगठनका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । नेपालमा २०५७ साल साउन २७ गते नेपाल निवृत्त शिक्षक समाज गठन भएको हो ।
धनकुटामा भने २०७९ माघ २० गते स्थापना भएको हो । त्यसबेला ७ सदस्यीय तदर्थ समिति गठन मात्रै भएकोमा २०८० बैशाख २३ गते पहिलो अधिवेशन सम्पन्न भएको थियो । अहिले धमाधम स्थानीय तहगत कमिटी बनाउने काम भइरहेको अध्यक्ष खड्काले बताए ।