धनकुटा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनकुटाले आसन्न महासमिति बैठकका लागी केन्द्र देखि टोल कार्य समितिको नेतृत्व चयन र हरेक तहको उम्मेदवार क्रियाशील सदस्यबाट छनौट गर्ने व्यवस्था सहित २७ बुदे सुझाव तयार गरिएको छ ।
जिल्ला सभापति दिनेश राईको अध्यक्षतामा विभिन्न चरणमा नेता तथा कार्यकर्ताहरुसँग छलफल तथा अन्तरक्रिया गरी सरसल्लाह र परामर्श गरी कांग्रेसको नीति र विधान संसोधनका लागी २७ बुँदे सुझाव तयार गरी महासमितिको बैठकबाट पारित गर्न पठाइने सचिव विजय सन्तोषी राईले वताए ।
केन्द्रदेखि टोल कार्य समितिको सभापति सहित सवै पदाधिकारी र सदस्यहरुलाई सवै क्रियाशील सदस्यले भोट दिने विधानमा व्यवस्था गर्नका लागी धनकुटा कांग्रेसले दिएको सुझावमा उल्लेख छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य, दुवै तहका सांसदहरु र सासंदहरुका उम्मेदवारहरु वडा तहबाटै प्रतिनिधिमा निर्वाचित भई आउनु पर्ने, सम्पर्क समिति, भातृ तथा शुभेच्छुक संस्थाहरुबाट समेत जिल्ला अधिवेशनका लागी क्षेत्रीय प्रतिनिधिको व्यवस्था गर्न, केन्द्रदेखि टोल समितिसम्म महिला उपसभापति, महिला महामन्त्रि/सचिव र सहमहामन्त्री/सहसचिव निर्वाचित हुने विधानमा व्यवस्था गर्न माग गरिएको छ ।
प्रत्येक प्रदेशबाट एक महिला सहित ४/४ जना केन्द्रिय सदस्य निर्वाचित हुने विधानमा व्यवस्था, स्वास्थ्य सेवालाई नि:शुल्क अनिवार्य बनाउनका लागि स्वास्थ्य बिमालाई बढाएर पाँच लाखसम्म तत्काल पुर्याउनका लागी स्वास्थ्य नीति बनाउनु पर्ने, शिक्षा नीतिमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई सरकारको जमानीमा एक प्रतिशतमा शैक्षिक ऋण अनिवार्य उपलब्ध गराउनु पर्ने, ज्येष्ठ नागरिकहरुलाई सरकारले अनिवार्य पालनपोषणको व्यवस्था गर्नु पर्ने र यूवा नीतिमा यूवाहरुलाई रोजगार स्वरोजगार बनाउनु पर्ने, यूवाहरुलाई सीपमूलक प्राविधिक शिक्षा दिई सरकारको जमानीमा सहुलियत दरमा ऋण अनिवार्य उपलब्ध गराई व्यवसाय संचालन गर्न लगाउनु पर्ने, खेलकुदलाई अभियानको रुपमा हरेक तहमा संचालन गर्नुपर्ने लगायतका विभिन्न सुझावहरु महासमितिको बैठकका लागी तयार गरिएको सभापति दिनेश राईले वताए ।
हरेक तहको उम्मेद्वार नेताले छनोट नगरी कार्यकर्ताहरुबाटै छनौटका लागि सदस्यहरुबाट भोट गरी उम्मेदवार छनौट गर्ने नीति बनाउनु पर्ने सुझावमा उल्लेख छ ।