धनकुटा l चौविसे गाउँपालिका वडा नं. ६ शिखरपुरमा भोली देखि संचालन हुने दोस्रो जय दगलसिंह स्मृति गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ ।
हात्तिटार स्पोर्टस् क्लवको आयोजनामा संचालन हुने गोल्डकप हात्तिटार खेल मैदानमा हुनेछ । आज क्लवको संयोजनमा खेलमैदानको सरसफाई समेत गरिएको छ ।
उद्घाटन खेल आयोजक हात्तिटार स्पोर्टस् क्लव र फाक्सिव क्लव वीच हुनेछ । सार्वजनिक गरिएको खेल तालिका अनुसार आयोजक र फाक्सिव वीचको खेल विहान ११ बजे हुने हात्तिटार स्पोर्टस् क्लवका अध्यक्ष रत्नवहादुर राईले बताए । सोही दिन दिउँसो २ बजेदेखि सिसिडिआइसी फुटवल क्लव मौनावुधुक र देउराली यूवा क्लव वीच खेल हुनेछ ।
गतवर्ष देखि सुरु भएको गोल्डकपको यो दोस्रो संस्करण हो । गोल्डकपमा ८ टिमको सहभागिता छ ।
वैशाख १ गते हुने फाइनल खेलको विजेताले नगद १ लाख रुपैया सहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमलाई नगद ५० हजार रुपैया सहित ट्रफी र मेडल पाउनेछ ।
हरेक खेलमा म्यान अफ दी म्याच पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने एक जनालाई सर्वोत्कृष्ट खेलाडीको रुपमा र विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको उनको भनाई छ ।
गतवर्ष डागीहाँट फुटवल क्लव भाउनी विजेता वनेको थियो ।
प्रतियोगितालाई भव्य रुपमा संचालन गर्न चौविसे गाउँपालिका र साँगुरीगढी गाउँपालिका विशेष सहयोग प्राप्त भएको छ । त्यस्तै देश तथा विदेशमा रहेका सहयोगी दाताहरुलाई आर्थिक सहयोग प्राप्त भइरहेको अध्यक्ष राईको भनाई छ ।
नकआउट चरणमा हुने प्रतियोगितामा आयोजक सहित फाक्सिव फुटवल क्लव, डाँडाबजार फुटवल क्लव, युनिटी स्पोर्ट्स क्लव, सिसिडिआइसी फुटवल क्लव मौनावुधुक, देउराी यूवा क्लव, डाँगीहाट फुटवल क्लव र कटारी फुटवल क्लव छन् ।
खेलको प्रत्यक्ष प्रशारण प्रतियोगिताको अफिसियल मिडिया पार्टनर समेत रहेकाे मेरो गन्तव्य फेसवुक पेजले गर्नेछ ।