धनकुटा । कृषि क्षेत्रमा प्रवाह हुने सेवाहरुमा दोहोरोपना हटाउँदै सवै कृषकहरुले राज्यले प्रदान गर्ने सेवा तथा सुविधामा पहुँच पु¥याउने उद्देश्य सहित साँगुरीगढी गाउँपालिकाले किसान सूचिकरण कार्यक्रम सुरु गर्ने भएको छ ।
गाउँपालिकाले सोमवार किसान सूचिकरण कार्यक्रमको लागि सहजकर्ताहरुलाई एक दिने अभिमुखिकरण तालिमको समेत आयोजना गरेको छ । तालिममा कृषि विकास शाखा प्रमुख राजिवकुमार पाख्रिनले सहभागीहरुलाई किसान सूचिकरणको उद्देश्य, महत्व तथा आवश्यकता, कसरी गर्ने भन्ने विषयमा सहजीकरण गरेका थिए ।
कृषक वर्गीकरणको लागि आधार तथा आवश्यक तथ्यांक सहितको राष्ट्रिय डाटावेश तयार गर्नका लागि साँगुरीगढी गाउँपालिकाको १० मध्ये ६, ७, ८, ९ र १० गरी पाँच वडाका २ हजार २ सय २७ घरधुरीमा पुगेर सहजकर्ता मार्फत तथ्यांक संकलन गरिने कृषि विकास शाखा प्रमुख पाख्रिनले बताए ।
उनका अनुसार ५ वडाका लागि १५ जना सहजकर्ता खटिनेछन् । हरेक वडामा तीन÷तीन सहजकर्ता हुनेछन् । सहजकर्ताहरु किसानको घर–घरमा पुगेर तथ्यांकहरु संकलन गरि स्थलगत रुपमै अनलाइन प्रविष्ट गर्नेछन् । यो कार्यक्रम आगामी असार १० गतेसम्म सम्पन्न भइसक्ने उनले बताए । गत आर्थिक वर्षमा वडा नं. १ देखि ५ वडासम्म तथ्यांक सकलन गरिएको थियो ।
कार्यक्रममा साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राई, प्रमुख प्रशासकीय अधिकृत दिलशेर राई लगायतले आगामी दिनहरुमा कृषि क्षेत्रको सेवा सुविधाहरु किसान परिचयपत्रको आधारमा मात्रै उपलब्ध गराउने राज्यको नीति भएकाले सहजकर्ताहरुबाट वास्तविक सूचना संकलन गरिनुपर्नेमा जोड दिए ।