धनकुटा । खगेन्द्र सीता परोपकारी संस्था धरानका संस्थापक तथा समाजसेवी खगेन्द्र कुँवरले राजारानीस्थित पुण्य माध्यमिक विद्यालयमा अध्ययनरत दुई जना विपन्न तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् ।
समाजसेवी कुँवरले शैक्षिकसत्र २०८० मा कक्षा ६ मा प्रथम भएकी छात्रा सगुन लिम्बू र कक्षा ९ मा चौथो भएका विपन्न र जेहेन्दार छात्र दिपेन लिम्बूलाई यस शैक्षिकसत्रमा पठनपाठनमा हुने सम्पूर्ण खर्चको दायित्व (प्रति विद्यार्थी करिब तीस हजार रुपैयाँ बराबरको) व्यहोरेर अभिभावकत्व ग्रहण गरेका हुन् ।
उनीहरुको अनुशासन र सिकाइको नतिजा सन्तोषजनक भएमा यो सहयोग निरन्तर रहने गरी आज वुधवार विद्यालय, दाता र विद्यार्थीका अभिभावकका विचमा एउटा त्रिपक्षीय सम्झौता सम्पन्न भएको पुण्य माध्यमिक विद्यालयका सूचना अधिकारी बद्री बजगाईंले बताए । उनका अनुसार समाजसेवी कुँवरले विद्यार्थीका लागि खाजा, स्टेशनरी, थप पाठ्यसामग्री, अतिरिक्त कक्षाको शुल्क, यातायात शुल्क ( स्कुल बस भाडा) पोशाक आदिमा हुने सम्पुर्ण खर्च व्यहोर्ने छन् ।
महान परोपकारी र स्तुत्य कार्य गरी मानव सेवाको अनुपम उदाहरण प्रदान गरेका कुँवरको कार्यप्रति विद्यालयको तर्फबाट धन्यवाद व्यक्त गरिएको छ ।