धनकुटा । चौविसे गाउँपालिका वडा नं. ७ मौनावुधुकमा सम्पन्नसातौं खादले सिद्धदेवी गोल्डकप फुटवल प्रतियोगिताको उपाधी पानवारी फुटवल क्लव धरानले जितेको छ ।
बुधवार वुधुक खेल मैदानमा सम्पन्न फाइनल खेलमा फाक्सिव फुटवल क्लवलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले पराजित गर्दै पानबारी एफसीले उपाधी जितेको हो ।
उपाधीसँगै पानबारी एफसीले नगद १ लाख ११ हजार १ सय ११ रुपैया र ट्रफी समेत प्राप्त गरेको छ । त्यस्तै उपविजेता वनेको फाक्सिवले ६६ हजार ६ सय ६६ रुपैया र ट्रफीमा चित्त वुझायो । निर्धारित समय गोलरहित वरावरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
पेनाल्टीमा विजेता टिम पानबारीको तर्फबाट मिलन लिम्बु, अजय विष्ट, सुनिल मगर र रोमन लिम्बूले गोल गरेका थिए । भने उपविजेता टिम फाक्सिवको तर्फबाट सुमन लिम्बू र सागर लिम्बूले मात्रै गोल गरे । हेमन्त लिम्बू र शौरभ लिम्बूको प्रहार पानवारीका गोलकिपर रविन भूजेलले रोकेका थिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पानवारीमा अर्जुन लिम्बू घोषित भए । उनले ट्रफी र नगद ३ हजार रुपैया प्राप्त गरे । यसैगरी पानवारीकै मिलन लिम्बू सर्वाधिक गोलकर्ता, सुनिल मगर उत्कृष्ट डिफेन्डर, दोर्जे तामाङ उत्कृष्ट मिडफिल्डर घोषित भए । उदयीमान खेलाडी आयोजक टिमका दिलन लिम्बू घोषित भए । उनीहरुहरुले नगद २ हजार पाँच सय रुपैयाको दरले प्राप्त गरेका थिए । फाइनल खेलको म्यान अफ दी म्याच पानबारीका गोलकिपर रविन भूजेल घोषित हुँदै नगद २ हजार रुपैया प्राप्त गरे ।
विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई चौविसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ, ७ नं. वडाध्यक्ष रुद्र चेम्जोङ, प्रतियोगिता व्यवस्थापक हर्कराज चेम्जोङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
चौविसे सामुदायिक विकास तथा सूचना केन्द्र (सिसिडिआइसी) फुटवल क्लवको आयोजनामा गतवैशाख २ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता थियो । फुटवलको माध्यमवाट यस क्षेत्रको प्रचारप्रचार, विकास गर्ने र पहिचान गराउने उद्देश्यले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आइरहेको प्रतियोगिताको व्यवस्थापक हर्कराज चेम्जोङले बताए ।
मौनावुधुकमा रहेको शक्तिपिडको रुपमा रहेको धार्मिक आस्थाको केन्द्र खादले सिद्धदेवी देवस्थलको प्रचार प्रसार गर्नु मुख्य उद्देश्य रहेको छ । प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्नका लागि स्थानीय तह, देश तथा विदेशमा रहेका नेपालीहरुबाट आर्थिक सहयोग प्राप्त भएको उनले बताए ।
प्रतियोगिता संचालन गर्नका लागि ८ लाख रुपैया बजेट विनियोजन गरिएको छ । प्रतियोगिताको प्रायोजक चौविसे गाउँपालिका वडा नं ७ वडा कार्यालय र चौविसे गाउँपालिका रहेको छ । प्रतियोगतालाई हरेक वर्ष दिगो रुपमा संचालन गर्नका लागि अक्षयकोष स्थापना गर्ने पहल भइरहेको सातौं संस्करणका व्यवस्थापक चेम्जोङले बताए । चेम्जोङको समन्वयमा अक्षयकोष निर्माणका लागि ७ नं वडाध्यक्ष रुद्रप्रसाद चेम्जोङ र गाउँपालिका अध्यक्ष राजकुमार लिम्बुको अगुवाइमा पहल भइरहेको छ ।