धनकुटा । आगामी वैशाख १४ गतेदेखि हुने जंगवहादुर थापा स्मृति तेस्रो डाँडाबजार गोल्डकप फुटवल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । अहिले मैदान स्तरउन्नात्तिको काम धमाधम भइरहेको आयोजक डाँडाबजार फुटवल क्लवका अध्यक्ष राजकुमार सुब्बाले बताए ।
डाँडाबजार फुटवल क्लवको आयोजनामा साँगुरीगढी गाउँपालिका वडा नं. ५ स्थित डाँडाबजार खेलमैदानमा आगामी वैशाख १४ गते देखि प्रतियोगिता सुरु हुँदैछ ।
मैदानमा दुवो रोपिएको छ । फुटवल हेर्न आउने दर्शकको लागि वाँसको प्याराफिट निर्माण गरिएको छ । मैदान स्तरउन्नोत्ति गर्ने कार्यमा स्थानीय यूवाहरुको उत्साहजनक सहभागिता रहेको क्लवका कोषाध्यक्ष मणीकुमार देवानले बताए ।
अघिल्लो संस्करण नाइन साइजमा प्रतियोगिता संचालन भएको थियो । तर यो वर्ष भने मैदान स्तरउन्नोत्ति गरेर एलाभेन साइजको बनाइएको छ । प्रतियोगितालाई सफलतापूर्वक संचालन गर्न सवै क्षेत्रको सहयोग प्राप्त भइरहेको क्लवका सदस्य मिलन थेगिमले बताए ।
डाँडाबजार गोल्डकपको विजेताले नगद २ लाख ५० हजार सहित ट्रफी र मेडल प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले नगद १ लाख ५० हजार रुपैया सहित ट्रफी र मेडल प्राप्त गर्नेछ । हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै सर्वोत्कृष्ट खेलाडी र विधागत पुरस्कारको व्यवस्था समेत गरिएको छ ।
प्रतियोगितामा आयोजक डाँडाबजार फुटवल क्लव सहित डाँगीहाट फूटवल क्लव बेलवारी, निराजन यूवा क्लव धरान, रारा फुटवल क्लव, लेटाङ फुटवल क्लव, गाईघाट फुुटवल क्लव उदयपुर, कोशी प्रदेश प्रहरी रानी विराटनगर, तालतलैया फुटवल क्लव गरी ८ टिमको सहभागिता रहनेछ ।
हरेक वर्ष फागु पूर्णिमाको दिन प्रतियोगिता संचालन हुँदै आइरहेपनि पनि यो संस्करणमा भने मैदान स्तरन्नोत्तिको कारण ढिलाई भएको हो । भव्य रुपमा संचालन गर्न गाउँपालिका, वडा कार्यालय, विभिन्न सामाजिक संघसंस्था, देश तथा विदेश वस्ने नेपालीहरुबाट सहयोग प्राप्त भइरहेको छ । प्रतियोगिता संचालनको लागि करिव ११ लाख रुपैया बजेट विनियोजन गरिएको छ ।
‘डाँडाबजारको शान, खेलकुदवाट पहिचान’ भन्ने मूल नाराका साथ संचालन हुने प्रतियोगिताको मुख्य उद्देश्य ८–१३ उमेर समूहको खेलाडी उत्पादन गर्नु रहेको आयोजक समितिमा आवद्ध समेत रहेका ५ नं. वडाका वडाध्यक्ष खड्गवहादुर लिम्बूले बताए ।