धनकुटा । १६ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिताको उद्घाटन खेल वर्षाले प्रभावित वनेको छ ।
उद्घाटन खेल वर्षाले प्रभावित हुँदा दोस्रो हाफको खेल स्थगित गरियो । उक्त खेल भोलि विहान १० बजे पुनः खेलाइने प्रतियोगिताको संयोजक शम्भु प्रधानले बताए ।
उद्घाटन खेल एपिएफ काठमाडौं र मोरङको चारतारे क्लव वीच प्रतिस्पर्धा भएको थियो । खेलको सुरुवात देखि नै वर्षा सुरु भएको थियो । लगातारको वर्षाले खेल सुरु भएको २० मिनेट पछि पुनः अवरुद्ध वनेको थियो । वर्षा कम भएपछि पुनः खेल सुचारु भएको थियो । पहिलो हाफ सकिएपछि दोस्रो हाफ सुरु गर्ने क्रममा लगातार वर्षा भएको थियो । लगातारको वर्षाले खेल मैदान जलमग्न भएको थियो । त्यसपछि दुवै टिमको सहमति पछि आयोजकले दोस्रो हाफको खेल भोलि सोमवार विहान १० बजे खेलाउने निर्णय गरेको थियो ।
खेलमा मोरङको चारतारे क्लव माथि एपिएफ क्लवले १–० गोलको अग्रता लिएको छ । खेल सुरु भएको एक मिनेट वित्न नपाउँदै सुमन श्रेष्ठले हेड मार्फत गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए । वुद्धिमान राईले कर्नरबाट उपलब्ध गराएको सुन्दर पासलाई सदुप्रयोग गर्दै सुमनले हेडमार्फत सुन्दर गोल गर्दै अग्रता दिलाएका थिए । सुरुवाती समयमै गोल खाएपछि चारतारे केही दवावमा देखियो । उसले लगातार एपीएफ माथि दवाव दिएपछि गोलस्कोर निकाल्न सकेन । पहिलो हाफको मध्यतिर चारेतारेका महत्वपूर्ण खेलाडी सुशिल राई घाइते हुँदै मैदानबाट वाहिरिए । उनको स्थानमा आएका विरेन लिम्बूले पाएको केही अवसरमा गोल गर्न सकेनन् । मैदान हिलाम्ये हुँदा दुवै टिमका खेलाडीहरुलाई खेल्न असहज भएको थियो ।
गोल्डकपको विजेताले नगद ५ लाख रुपैया सहित ट्रफी र उपविजेताले नगद २ लाख ५० हजार रुपैया प्राप्त गर्ने छ । हरेक खेलमा म्यान अफ दी म्याचको व्यवस्था छ । सर्वोत्कृष्ट सहित विधागत तर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई नगद सहित पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा आयोजक टिम सहित त्रिभुवन आर्मी क्लव, सशस्त्र प्रहरी क्लव, नेपाल सुपर लिग खेलेको वुटवल लुम्बिनी क्लव, सिराहाको सलहेश यूवा क्लव, मोरङको चारतारे यूवा क्लव, इटहरीको राष्ट्रिय जागृति क्लव, झापाको विर्तामोड युनाइटेड क्लव गरी आठ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन समारोह भव्य गरिएको थियो । उद्घाटन कार्यक्रममा सहिदपुत्र नेपाली कांग्रेसका नेता तथा संविधान सभा सदस्य मनोहरनारायण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश राई, पाख्रिवास नगरप्रमुख ज्ञानवहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । सहिद भीमनारायण स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा स्वागत मन्तव्य प्रतियोगिताको संयोजक शम्भु प्रधान, कार्यक्रमको संचालन रामबहादुर श्रेष्ठले गरेका थिए । उद्घाटन समारोहका प्रमुख अतिथि सहिद भीमनारायण श्रेष्ठकी धर्मपत्नी लक्ष्मीदेवी श्रेष्ठ थिइन् ।
२०५५ सालमा स्थापित गोल्डकप सुरुका दुई वर्ष नियमित रूपमा सञ्चालन भएको थियो । त्यसपछि देशको तत्कालीन असहज परिस्थतिका कारण सञ्चालन हुन सकेन । २०६३ सालपछि गोल्डकप बर्सेनि सञ्चालन हुँदै आइरहेको छ । २०५५ सालमा धनकुटा नगरपालिका–६ का तत्कालीन वडाध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले प्रतियोगिताको सुरुवात गरेका हुन् । नेपाल कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो। उनलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।