धनकुटा । १६ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा संचालन हुने प्रतियोगितामा ए डिभिजन क्लव सहित ८ टिम सहभागि हुने भएका छन् ।
उद्घाटन खेल एपिएफ काठमाडौं र मोरङको चारतारे क्लव वीच हुनेछ ।
गोल्डकपको विजेताले नगद ५ लाख रुपैया सहित ट्रफी र उपविजेताले नगद २ लाख ५० हजार रुपैया प्राप्त गर्ने प्रतियोगिताको संयोजक शम्भु प्रधानले बताए । आगामी वैशाख २९ गतेसम्म संचालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको उनले बताए । हरेक खेलमा म्यान अफ दी म्याचको व्यवस्था छ । सर्वोत्कृष्ट सहित विधागत तर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई नगद सहित पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको उद्घाटन सहिद भीमनारायण श्रेष्ठकी धर्मपत्नी लक्ष्मीदेवी श्रेष्ठले गर्ने प्रचारप्रसार संयोजक विदुर खवासले बताए ।
१६ औं संस्करणको खेल हेर्न आउने दर्शकहरुको लागि प्रवेश निःशुल्कको व्यवस्था गरिएको छ । यो पटक धनकुटा नगरपालिकाले प्रतियोगिता अवधिभरको टिकट सौजन्य गरिदिएको आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानका सचिव रोशन श्रेष्ठले बताए । प्रतियोगिता संचालनको लागि नगरपालिकाबाट १० लाख रुपैया प्राप्त भएको छ । टिकट सौजन्य बापत थप ३ लाख रुपैया प्राप्त भएको कारण यो संस्करणमा खेल हेर्न आउने दर्शकले निःशुल्क प्रवेश पाउने उनको भनाई छ ।
प्रतियोगितामा एक डिभिजन क्लव त्रिभुवन आर्मी क्लव, सशस्त्र प्रहरी क्लव, नेपाल सुपर लिग खेलेको वुटवल लुम्बिनी क्लव, सिराहाको सलहेश यूवा क्लव, मोरङको चारतारे यूवा क्लव, इटहरीको राष्ट्रिय जागृति क्लव, झापाको विर्तामोड युनाइटेड क्लव र आयोजकको एक टिम गरी आठ टिमको सहभागिता छ ।
प्रतियोगितालाई भव्य रुपमा सम्पन्न तयारी तीव्र गरिएको आयोजक सहिद भीमनाराण स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले बताए । प्रतियोगिताको कुल अनुमानित बजेट ६३ लाख ५० हजार रुपैया रहेको छ ।
प्रतियोगितालाई व्यवस्थित रुपमा संचालन गर्नका लागि विभिन्न उपसमिति गठन गरिएको छ । गठन गरिएको उपसमितिहरुमा अर्थ संकलन, फिल्ड व्यवस्थापन, मञ्च व्यवस्थापन, प्रचार प्रसार, स्वयंसेवक परिचालन, सुरक्षा, प्राविधिक उपचार, बसोवास, कार्यक्रम तयारी, सचिवालय संचालन र स्वागत सत्कार उपसमिति रहेका छन् ।
२०५५ सालमा स्थापित गोल्डकप सुरुका दुई वर्ष नियमित रूपमा सञ्चालन भएको थियो । त्यसपछि देशको तत्कालीन असहज परिस्थतिका कारण सञ्चालन हुन सकेन । २०६३ सालपछि गोल्डकप बर्सेनि सञ्चालन हुँदै आइरहेको छ । २०५५ सालमा धनकुटा नगरपालिका–६ का तत्कालीन वडाध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले प्रतियोगिताको सुरुवात गरेका हुन् ।
नेपाल कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो। उनलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।