हरिबहादुर लम्जेल
धनकुटा । टाईब्रेकरमा गोलकिपर एन्जल श्रेष्ठले विपक्षी खेलाडीहरुको तीन वटा प्रहार रोक्दा विभागीय टोली सशस्त्र प्रहरी वलको एपिएफ क्लव धनकुटामा जारी १६ औं संस्करणको सहिद भीमनारायण गोल्डकपमा फाइनलको यात्रा तय गरेको छ ।
धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा बिहिवार सम्पन्न सेमिफाइनल खेलमा इटहरीको राष्ट्रिय जागृति क्लवलाई टाईब्रेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै एपिएफ क्लव काठमाडौंले फाइनलको यात्रा तय गरेको हो ।
सहिद भीमनारायण गोल्डकपमा एपिएफले दोस्रो पटक फाइनल यात्रा तय गरेको हो । यसभन्दा अघि २०७६ सालमा सम्पन्न १४ औं संस्करणमा पनि एपिएफले फाइनलको उपाधी समेत जितेको थियो । १४ औं संस्करणको फाइनलमा क्यामरुनको दाउफिन्स क्लवलाई टाईब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरेको थियो ।
ट्राइवेकरमा एपिएफको तर्फबाट सुमन श्रेष्ठ, युवराज खड्का र सविन गुरुङले गोल गर्न सफल भए । विश्वास उदास र दिपेश धिमालको प्रहार विपक्षी गोलकिपर विनय श्रेष्ठले रोकेका थिए । त्यस्तै राष्ट्रिय जागृतिको तर्फबाट उमेश राई र कुलदिप कार्कीले मात्र गोल गरे । मिलन राई, प्रवेश दनुवार र सुमित चौधरीको प्रहार एपिएफका गोलकिपर एन्जल श्रेष्ठले बचाएका थिए ।
गतवैशाख मंगलवार सम्पन्न क्वाटरफाइनल खेलमा वुटवल लुम्विनी फुटवल क्लवलाई ५–४ गोलअन्तरले हराउँदा टाईब्रेकरमा भाग्यमानी सावित वनेको राष्ट्रिय जागृति क्लव एपिएफसँग पराजित हुँदा अभागी बन्यो । वुटवल लुम्विनीलाई पराजित गर्दा टाईब्रेकरमा गोल गरेका कप्तान प्रवेश दनुवार, सुमित चौधरी र मिलन राईले एपिएफसँगको टाईब्रेकरमा गोल गर्न चुके ।
निर्धारित समय गोलरहित वरावरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरवाट लिइएको थियो । दुवै टिमका खेलाडीले पाएका केही अवसरमा गोल गर्न चुके । पहिलो हाफमा राष्ट्रिय जागृतिले एपिएफलाई दवावमा राखेपछि दोस्रो हाफमा एपिएफले राष्ट्रिय जागृतिलाई दवावमा राखेको थियो । केही राम्रा अवसर सिर्जना गरेपनि एपिएफका खेलाडीले गोल गर्न सकेनन् ।
एपिएफका गोलकिपर एन्जल खेलको खेलको म्यान अफ दी म्याच घोषित हुँदै नगद ५ हजार ५ रुपैया सहित ट्रफी प्राप्त गरे । शुक्रवार हुने सेमिफाइनल खेलमा आयोजक धनकुटा र विर्तामोड युनाइटेड क्लव वीच प्रतिस्पर्धा हुनेछ ।
एपिएफका प्रशिक्षक सुमन श्रेष्ठ खेलाडीको प्रर्दशनवाट सन्तुष्ट देखिएनन् । पाएको अवसरमा गोलस्कोर नहुँदा खेल टाइब्रेकरसम्म लम्बिएको उनले बताए । उनी भन्छन्, खेलाडीको प्रर्दशनले भन्दा पनि आज भाग्यले साथ दिँदा जित हासिल भएको हो । घरेलु भूमिमा उपाधी जित्ने लक्ष्य सहित प्रतियोगितामा सहभागी भएको उनको भनाई छ । यता राष्ट्रिय जागृतिका प्रशिक्षक विमल मगरले पाएको अवसरलाई सदुप्रयोग गर्न नसक्दा हार व्यहोर्नु परेको बताए ।
सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएकोे गोल्डकपको विजेताले नगद ५ लाख रुपैया सहित ट्रफी र उपविजेताले नगद २ लाख ५० हजार रुपैया प्राप्त गर्ने छ । आगामी वैशाख २९ गते सम्म संचालन हुने गोल्डकपमा ८ टिमको सहभागिता रहेको छ ।
२०५५ सालमा स्थापित गोल्डकप सुरुका दुई वर्ष नियमित रूपमा सञ्चालन भएको थियो । त्यसपछि देशको तत्कालीन असहज परिस्थतिका कारण सञ्चालन हुन सकेन । २०६३ सालपछि गोल्पडकप बर्सेनि सञ्चालन हुँदै आइरहेको छ । नेपाल कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो। उनलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।