धनकुटा । राजारानीमा जारी ११ औं गोर्खा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार सम्पन्न खेलमा झापाको विर्तामोड युनाइटेड क्लवले फराकिलो गोलअन्तरले जित हासिल गरेको छ ।
राजारानी खेल मैदानमा सम्पन्न खेलमा विर्तामोड युनाइटेड क्लव झापाले रियल स्टार युथ क्लब हेटौडालाई ४-० गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो । आजको खेलमा विजयी हुँदै झापा सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको जितमा योगेश गुरुङ र आशिष चापागाईले २/२ गोल गरेका थिए ।
खेल सुरु भएको तीन मिनेट नवित्दै आशिष चापागाईले गोल गर्दै झापालाई अग्रता दिलाए । उनले १३ मिनेटमा पून: अर्को गोल गर्दै झापाको अग्रता दोब्बर बनाए । कप्तान समेत रहेका झापाका योगेश गुरुङले खेलको ६३ औं मिनेटमा गोल गरे । योगेशले नै थपिएको अतिरिक्त समयमा पून: अर्को गोल थप्दै झापाको जित सुनिश्चित गरे ।
खेलमा झापाका आशिष चापागाई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ७ हजार र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तर्गत जेठ १२ गते शनिवार आयोजक रारा फुटवल क्लव र भोजपुर जिल्ला फुटवल क्लव वीच प्रतिस्पर्धा हुने आयोजक समितिका प्रचारप्रसार संयोजक सविन अधिकारीले बताए ।
रारा फुटबल क्लब, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।