हरिबहादुर लम्जेल
धनकुटा । दुई गाेलले पछि परेको स्थितिलाई उल्ट्याउँदै आयोजक रारा फुटवल क्लव राजारानीमा जारी ११ औं गोर्खा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिवार राजारानीस्थित पुण्य माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न खेलमा आयोजक राराले जिल्ला फुटवल संघ भोजपुरको टीमलाई ३-२ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । आयोजक रारा सेमिफाइनल प्रवेश गर्ने तेस्रो टोली हो । यसभन्दा अघि विर्तामोड युनाइटेड यूवा क्लव र डाँगिहाट फुटवल क्लव सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
खेलमा दुई पटक अग्रता लिएपनि भाेजपुरले खेल जित्न सकेन ।
राराका लागि ग्लोरीले ६६ औं मिनेटमा, राम वाजीले ८२ औं मिनेटमा र नवयुग श्नेष्ठले ९० ६६ औं मिनेटमा गोल गरे । भोजपुरका लागि भने दुवै गोल निशान लिम्बुले गरेका थिए । उनले खेलको १६ औं र ४८ औं मिनेटमा गोल गरेका थिए । खेलमा राराका राम वाजी म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ७ हजार र ट्रफी हात पारे ।
खेलको अन्त्यतिर दुवै टिम १०/१० खेलाडीमा समेटिए । आयोजक राराका विशाल घलान र भोजपुरका रोजिन माझिले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।
प्रतियोगिता अन्तर्गत जेठ १३ गते आइतबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल सलहेश युवा क्लब, सिराहा र गोल्डेन स्टार युथ क्लब, सुनसरी बीच हुनेछ ।
रारा फुटबल क्लब, राजारानी, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ १६ गतेका दिन हुनेछ ।