विनोद घिमिरे
धनकुटा l धनकुटामा बुहप्रतिक्षित तीन वटा सडक एकसाथ कालोपत्रे भएका छन् । बिहीबारेदेखि हटिया–तेलिया हुँदै तेह्रथुम जोड्ने सडक, गुठीटारबाट बाघखोर हुँदै छिँडी जोड्ने सडक र हिलेबाट छिन्ताङ्ग हुँदै त्रिवेणी पुग्ने सडक कालोपत्रे भएका हुन् । धनकुटाको दुर्गम क्षेत्र जोड्ने यी सडक कोशी राजमार्गको सोझो सम्पर्कमा जोडिएका छन् ।
प्रदेश सरकार स्थापना भएपछि प्रदेशको लगानीबाट ती सडक कालोपत्रे भएका हुन् । पछिल्लो अबधिमा सडक कालोपत्रे नहुँदा खासगरि वर्षायाममा हिलोको कारण बन्द हुने ती सडक कालोपत्रे भएपछि ग्रामिण क्षेत्रको उत्पादनले बजार मात्र पाएको छैन, सदरमुकाम र तराई नजिकिएको छ ।
बञ्जर बस्तीमा सञ्जिवनी
तीन वर्ष अघिसम्म धनकुटाको छथर जोरपाटी गाउँपालिका तेलियाका छगेन्द्रप्रसाद पराजुलीले हाटबजार र प्रशासनिक कामकाजका लागि सदरमुकाम धनकुटा बजार जान आउँन १० घण्टा पैदल हिड्नु पर्थ्यो । गाडीमा सदरमुकाम जानुपर्दा काजिमान, चुलाचुली, जोरपाटी, हिलेको घुमाउरो सडकमै दिन बित्थ्यो । तर, अहिले पराजुलीको घर मार्से र धनकुटा बजारबीचको भौतिक दुरी सडकले छोट्याएको छ ।
अहिले उनी गाउँमा चल्ने सार्वजनिक यातायातका साधनको प्रयोग गरेरै पनि डेढ घण्टामा सदरमुकाम आउजाउ गर्छन्, उनी । ७० वर्षसम्म थाप्लोमा गह्रुंगो भारी बोकेर आउजाउ गरेको सिधुँवा, तांखुवा खोला र खनियाँबासको उकालोमा सरर मोटर गुडेको देख्दा ८६ वर्षीय गुरुप्रसाद ओझालाई सपना जस्तो लाग्छ । पत्यारै लाग्दैन, भन्छन् ‘बल र बैंस, यही ठाउँमा उकालो र ओरालो गरेरै बिताइयो, अब बाटोपनि राम्रो भयो, बजारका मान्छे नउठ्दै आइपुग्न सक्ने अवस्था भयो ।’ तेलियाको मुख्य हाटबजार सदरमुकामको बिहीबारे हो, त्यहाँका अधिकांश स्थानीय दैनिक उपभोग्य वस्तु किनमेल र प्रशासनिक कामकाजका लागि पनि हिँडेरै बजार पुग्नुपर्ने बाध्यता थियो । अब त्यो अन्त्य भएको छ ।
कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको ६० करोड ३६ लाख ४१ हजार रुपैयाँको लागतमा पहिलो खण्ड अन्तर्गत धनकुटाको बिहीबारे हटिया, बञ्चरे, तेलिया हुँदै तेह्रथुमको म्याङलुङ्ग सडकको २३ किलोमिटर कालोपत्रे भएपछि स्थानीयको दैनिकी फेरिएको छ । सडक छेउमा स्थानीयले बाख्रा, तरकारी र फलफूल उत्पादन फार्ममा लगानी बढाएका छन् । सडकले छुने तेलियाको गुठमा रहेको बाकेडाँडाँमा जोरपाटीका उपेन्द्र राईले एक सय रोपनी क्षेत्रफलमा बहुउद्देश्यीय कृषि फार्म सञ्चालनमा ल्याएका छन् । अकबरे, केप्सीगम, गाँजरजस्ता ताजा तरकारी र बाख्रा फार्मबाट उनले आम्दानी गर्न थालेका छन् । उनको उत्पादन बजार पुर्याउँन कालोपत्रे सडकले सहज भएको छ ।
उपेन्द्र जस्तै मार्से, ओख्रे र परेवादिन क्षेत्रका किसानले पनि दूध, तरकारी र फलफूलका नयाँ व्यवसायिक परियोजना सुरु गरेको खोप्ताककका स्थानीय टिका थोक्लेन बताउँछन् । उनले भने, ‘मेहेनतका साथ काम गर्नेलाई नयाँ युगको सुरुवात भएको छ, उत्पादित वस्तु बिक्रीको समस्या छैन । बिहान, बेलुका जुनसुकै बेला यातायात र ढुवानीका साधन पाइन्छन् ।’ सदरमुकाम जोड्ने सडक कालोपत्रे भएपछि स्थानीय किसानमा जागरण मात्र आएको छैन, आफ्नो घर जग्गा त्यत्तिकै छाडेर बसाइ हिँडेकाहरु पनि व्यवसायिक योजना बनाएर गाउँ फर्कन थालेका छन् । १७ वर्षअघि बसाइ सरेर मोरङ्गको सलकपुर झरेका कर्कलेका बाबुराम निरौलाको परिवारले आफ्नो झण्डै १५० रोपनी जमिनमा आँप, लिचि तथा फलफूल र काष्ठ उत्पादन परियोजना सुरु गरेको छ । दशकौं अघि बसाइ सरेका भूपाल थापा र तेप्रसाद दाहालले यो वर्ष पुरानै ठाउँमा नयाँ घर बनाएका छन् । स्थानीय मेघराज खतिवडा कालोपत्रे सडकले सडकले निर्जन गाउँमा आसाको सञ्चार गराएको बताउँछन् । उनका अनुसार अहिले पुराना मान्छे फर्केर आउँदैछन्, कसैले नयाँ घर बनाए, कसैले पुराना संरक्षण र मर्मत गर्दैछन् । वडा सदस्यसमेत रहेका ओखे्रका खिन्द्रबहादुर अधिकारी खतिवडाको भनाईमा सहमत छन् । उनी भन्छन्, ‘मार्से, कर्कले, पिप्ले, गुठ लगायतका ठाउँ खाली थिए, पुराना घर डढेलोले खायो, धेरै भत्किए पनि । अहिले भने ती गाउँमा राता, सेता, निला छाना टल्किन थालेका छन् ।’ नयाँ मान्छे आएमा नयाँ काम पनि थपिने अधिकारीको विश्वास छ । बिहीबारे हाट, बञ्चरे, तेलिया सडकले परेवादिन, तेह्रथुमको हमरजुङ्ग, शुक्रबारे, फाक्चामारा, ओख्रे र सदरमुकाम म्याङ्लुङ्गलाई धनकुटामा कोशी राजमार्गसँग छोटो दुरीमा जोड्छ । कर्मिटाहारदेखि खोप्ताकसम्मको २३ किलोमिटरमा कालोपत्रेको काम भइसके पनि निर्माण कम्पनीले भुक्तानी पाउन बाँकी रहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजेश्र महतोले बताए । २०८१ असारमा म्याद सकिने आयोजनाको साढे तीन करोड रुपैयाँ अन्तिम भुक्तानी हुन बाँकी छ ।
धार्मिक, राजनीतिक र ऐतिहासिक पर्यटनलाई टेवा
ट्र्याक सुरु भएको झण्डै ४० वर्षपछि हिले, उत्तरपानी, छिन्ताङ खण्डको १० किलोमिटरमा कालोपत्रे भएको छ । धनकुटाको शहिदभूमि गाउँपालिको मुख्य यो सडक पूर्वाधार विकास कार्यालय भोजपुरको ३० करोड ७७ लाख ३९ हजार रुपैयाँको लागतमा धनकुटा नगरपालिकाको हिले बजारदेखि उत्तरपानी हुँदै थलथलेसम्मको १० किलोमिटरमा कालोपत्रे गरिसकिएको छ ।
२०३६ सालमा भोकमरी बिरुद्धको आन्दोलनमा तत्कालिन पञ्चायती शासकद्वारा १६ सर्वसाधरणको हत्या गरिएको यो गाउँ धार्मिक, ऐतिहासिक र राजनीतिक महत्वले उत्तिकै चर्चित छ । २०५८ सालमै यो सडकको ट्रयाक खोलिएको थियो ।
सहिदभूमि गाउँपालिको खोकु गुणस्तरीय सुन्तला उत्पादनका लागि मुलुकमै प्रख्यात छ । अब यहाँबाट सुन्तलासँगै अदुवा, गोलभेडा र केरा निकासीमा सहज हुने स्थानीयको भनाइ छ । खाल्सा क्षेत्रका इस्टदेव बुढाहाङ्ग राजाको दरबार, किराँती समुदायको आस्थाको प्रतिक त्रिवेणी स्थित खुवालुङ्ग र प्रसिद्ध छिन्ताङ्ग भगवतीको दर्शनका लागि पुग्ने यात्रीलाई पनि सहज भएको शहिदभूमि गाउँपालिका धनकुटा अध्यक्ष मनोज राईको भनाई छ ।
धार्मिक, ऐतिहासिक र राजनीतिक अनुसन्धानको सर्किटको रुपमा विकास गर्ने गाउँपालिको योजना रहेको उनले सुनाए । जिविकोपार्जन सुधारका लागि यो सडक लाइफलाईन भएको थलथलेका नरेन्द्र राईको भनाइ छ । यद्यपी हिलेदेखि त्रिवेणीसम्मको बाँकी २३ किलोमिटर सडक सुधार र स्तरोन्नतीका लागि लगानी बढाइनुपर्ने उनको माग छ । यो सडकले सहिदभूमि गाउँपालिका भएर अरुण, तमोर र दूधकोशी नदीको संगममा रहेको त्रिवेणीमा अवस्थित भोजपुर, खोटाङ्ग, उदयपुर र सुनसरी जिल्ला जोड्छ ।
सडक निर्माणको काम पुरा भएपछि गाउँपालिकाको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष मनोज राई बताउँछन् । हिले–छिन्ताङ्ग सडकले उत्तरपानी सिमसार, गोलभेंडा, अदुवा र सुन्तला पकेट क्षेत्र आँखीसल्ला, खोकु र ऐतिहासिक छिन्ताङ्ग हुँदै धनकुटा, उदयपुर, भोजपुर र सुनसरीको संगम सप्तकोशीको जलमार्ग त्रिवेणी क्षेत्रका नागरिक लाभान्वित हुन्छन् । शहिदभूमिका सात वटै वडामा आन्तरिक सडक सञ्जाल विस्तार भइसकेकाले स्थानीयलाई उत्पादित कृषि उपज निकासीमा सहज भएको छ ।
पहिलो चरणमा कालोपत्रेका लागि ठेक्का लागेको १० किलोमिटरमध्ये अब मार्किङ्ग र पेन्टिङ्गको काम मात्रै बाँकी रहेको आयोजना प्रमुख एवं पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख महतो बताउँछन् । यो सडकमा पनि निर्माणको जिम्मा पाएको रायमाझी आजाद जेभीले साढे ३ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।
गोलभेडा पकेट क्षेत्रमा सडकले जगाएको उत्साह
लामो समयको प्रतिक्षापछि धनकुटाको गुठिटार, बेलहरा, बाघखोर, छिँडी क्षेत्रका स्थानीयले कालोपत्रे सडकमा यात्रा गर्न पाएका छन् । २४ करोड ९९ लाख ५७ हजार रुपैयाँको लागतमा निर्माण भएको १२ किलोमिटर लामो सडक कालोपत्रेको काम पुरा भएपछि स्थानीयको उत्पादनले राम्रो मूल्य र बजार पाउने अवस्था बनेको छ । २०७६ सालमा कालोपत्रे सुरु भएको यो सडकको काम सक्न ५ वर्ष लाग्यो । निर्माण कम्पनीसँग सम्झौता भएपछि कोरोना महामारीका कारण केहि समय काम गर्न समस्या परेको निर्माण कम्पनीका प्रतिनिधि बताउँछन् । गुठीटार छिँडी सडकले गोलभेंडा उत्पादन पकेट क्षेत्र र प्रस्तावित बेलहरा विमानस्थल क्षेत्रका स्थानीयलाई सुविधा पुगेको वडाध्यक्ष टंकप्रसाद रोइलाले बताए ।
सडकले कोशी राजमार्गको गुठिटारबाट शहिदभूमि गाउँपालिकाको प्रवेशद्वार छिँडी जोड्छ । यो सडक हिले, उत्तरपानी छिन्ताङ्ग सडकको सहायक मार्गको रुपमा छ । यहि सडकबाट बेलहरा हुँदै शहिदभूमि पुग्न सकिन्छ । २०८१ वैखाशमा कालोपत्रे सकिएको सडक छेउमा पसल र तरकारी संकलन केन्द्र सञ्चालनमा आउँन थालेका छन् । जसबाट स्थानीय किसानले आफ्नो उत्पादन घरछेउबाटै बिक्री गर्न पाएका छन् ।
सडक कालोपत्रे भएसँगै किसानको दैनिकी सहज भएको छ । स्थानीय रामप्रसाद लामिछाने सडक कालोपत्रेबाट दैनिक उपभोग्य बस्तुको बिक्री तथा उत्पादित कृषि उपज निर्यातका लागि सुबिधा पुगेको बताउँछन् । सडक सञ्जाल व्यवस्थित भएसँगै ब्यपारीहरुसमेत किसानका बारीमै पुग्न थालेका छन् । जसले गर्दा मूल्य पनि राम्रो पाउन थालेको उनीहरुको अनुभव छ । वडाध्यक्ष रोइलाका अनुसार व्यापारीमा मात्रै नभएर उत्पादित चिजबस्तु बिक्रिमा सहजता भएसँगै उत्पादनको क्षेत्रसमेत बिस्तार हुँदै गएको छ । सदरमुकमा र तराईका उपभोक्ताले पनि ताजा तरकारी उपभोग गर्न पाउने अवस्था सडकले बनाएको छ ।
सडक उपयोगको खाँचो
धनकुटाको बिहीबारे हटिया तेलिया, हिले उत्तरपानी छिन्ताङ्ग र गुठिटार बाघखोर छिँडीसम्मको जम्मा ४५ किलोमिटर सडक कालोपत्रे गर्न कोशी प्रदेश सरकारको झण्डै १ अर्ब १६ करोड रुपैयाँ लगानी भएको छ । लामो समयदेखि लघु उद्यम प्रबद्र्धन र ग्रामिण विकासका क्षेत्रमा काम गर्दे आएका विश्लेषक राजेन्द्रबहादुर प्रधान सडक समृद्धिको साधान भएपनि साध्य भने नभएको बताउँछन् । सडक र पूर्वाधार भएर मात्रै ब्यक्ति धनी र सम्पन्न हुन नसक्ने उनको भनाई छ ।
सडक सञ्जाल व्यवस्थित भएका क्षेत्रमा संभाव्यताको पहिचान गरि उत्पादनमा लगानी बढाउनुपर्ने उनको सुझाव छ । भन्छन्, ‘पूर्वाधार मात्रै बनाएर हामी आर्थिक समृद्धिको लक्ष्य भेट्न सक्दैनौं, त्यसका लागि भएका पूर्वाधारको अधिकतम् उपयोग गर्नेतर्फ योजना बनाएर कार्यान्वयनमा लाग्न आवश्यक छ ।’ त्यसका लागि स्थानीय सरकारले अग्रसरता देखाउनुपर्ने उनको सुझाब छ ।
सडकको सहि उपयोग गर्नको लागि अब उत्पादनमुलक क्षेत्रमा लगानीका लागि प्रदेश र केन्द्र सरकारलाई बाध्य पार्नुपर्ने विज्ञहरुको सुझाब छ । कृषि पर्यटन अभियन्ता तथा लेखक जीवनप्रसाद राई धनकुटामा प्रदेश सरकारले निर्माण गरेका तीन वटा सडक धनकुटाको आर्थिक समृद्धिको आधार तयार भएको भएको बताउँछन् । यी सडकका माध्यमले ग्रामिण क्षेत्रमा लघु उद्यम, घरबास कार्यक्रम र अर्गानिक उत्पादन फस्टाउने मौका पाउनुपर्ने उनको धारणा छ । राई भन्छन्, ‘सडकको साइनो नागरिकको दैनिकीसँग जोडिएको हुनपर्छ, तब मात्रै राज्यको लगानी सदुपयोग हुन्छ ।’ यद्यपी सडकले स्थानीयको दैनिकी फेरिएको छ, उत्पादनले सहज रुपमा बजार पाएको छ । शिक्षा र स्वास्थ्यको पहुँच नजिक भएको छ । विकासको मुख्य आधार नै सडक हो । सडकले नै अन्य विकासका सुचकहरुलाई तान्ने भएकोले स्थानीय उत्साहित भएका देखिन्छन् ।