धनकुटा । नेपाल पत्रकार महासंघले देशभरका सबै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । यसैक्रममा धनकुटामा पत्रकारहरुले प्रहरीको अवरोधलाई तोड्दै जिल्ला प्रशासन कार्यालय मुलगेटमा धर्ना दिएका छन् ।
सरकारले स्वतन्त्र प्रेसको घाँटी निमोड्न ल्याएको विद्युतीय कारोवार ऐनको विरोधमा सो धर्ना बसेको जनाएको छ । सो ऐनको दफा ४७ र ४८ लाई टेकेर हालै पोखराका सञ्चारकर्मी अर्जुन गिरीलाई पक्राउ गरिएको छ । त्यस पक्राउको विरोध गर्दै सो ऐनको दफा ४७ र ४८ को खारेजीको माग गर्दै धर्ना बसेको नेपाल पत्रकार महासंघ धनकुटा शाखाले जनाएको छ ।
धनकुटाका पत्रकारहरुको धर्नालाई असफल बनाउन जिल्ला प्रशासन कार्यालयको बाहिरी गेटमै प्रहरीले प्रवेशमा रोक लगाएका थिए । पत्रकारहरुलाई कम्पाउण्ड बाहिरको गेटमै रोकी प्रहरीले घेरा हालेका थिए । पत्रकारहरुले प्रहरीको घेरा तोड्दै जिल्ला प्रशासन कार्यालयमा प्रवेश गरी मुल ढोकामा धर्ना दिई कार्यक्रम सफल बनाएका छन् ।
धर्ना कार्यक्रम पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठको अध्यक्षता भएको थियो । समापन कार्यक्रममा अध्यक्ष श्रेष्ठले देशमा प्रजातन्त्रको हत्या गरी तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिदाँ दलहरु सडकमा आउन सकेका थिएनन् । त्यस्तो अवस्थामा देशभरका सञ्चारकर्मीहरुले सडक आन्दोलन गरेर जनआन्दोलनको शुरुवात गरेको र त्यहि आन्दोलनको सफलता पछि सत्तामा पुगेको दलहरुलाई स्मरण गराउँदै ज्ञानेन्द्र मार्गमा नहिड्न चेतावनी दिए । उनले जनताको सुसूचित हुने अधिकारलाई अंकुस लगाउने गरी ल्याएको विद्युतीय कारोवार एनेको दफा ४७ र ४८ खोरेजी नहुञ्जेल आन्दोलन जारी रहने चेतावनी दिए ।
धर्ना कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष सञ्जय सन्तोषी राई, प्रदेश उपाध्यक्ष स्मिता निरौला, धनकुटा शाखा पूर्व अध्यक्षहरु विजयसन्तोषी राई, मोहन बान्तवा, खगेन्द्रप्रसाद घिमिरे, सचिव विदुर खवास, केन्द्रिय पार्षदहरु रमेशचन्द्र अधिकारी, विनोद घिमिरे सहभागी थिए । यस्तै नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोङ्ग, पत्रकार महासंघका सदस्यहरु कविराज घिमिरे, नरेन्द्र कश्चित, रेडियो भेडेटारका स्टेशन म्यानेजर पूर्णकुमार चौधरीलगायत सञ्चारकर्मीहरु सहभागी भएका थिए । धर्नामा संचारकर्मीहरुले शाही शासनकालमा नझुकेको स्मरण गराउँदै आन्दोलनलाई दवाउने प्रयास नगर्न चेतावनी दिए ।
बाबुराम भट्टराई प्रधानमन्त्री हुदाँ नागरिकले माग्न पाउने केहि सूचनाको हकमा निषेध गरेपछि त्यसको विरुद्ध धनकुटाबाट आन्दोलनको शुरुवात भएको थियो । अन्ततः सरकारले वाध्य भएर त्यो निषेध हटाईएको थियो ।
धर्ना दिन गएका पत्रकारहरुलाई प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीको निर्देशनमा कार्यालय परिसरभित्र प्रवेश गर्न प्रहरीले नदिएपछि पत्रकार र प्रहरी विच केही बेर ठेलमठेल भएको पूर्व केन्द्रिय उपाध्यक्ष सञ्जयसन्तोषी राईले जानकारी दिए । सो कार्यक्रमको संचालन सदस्य नरेन्द्र कश्चितले गरेका थिए ।