धनकुटा बैशाख १२ ।
हिलेमा आयोजित निःशुल्क क्यान्सर परिक्षण शिविर सम्पन्न भएको छ । सा शिविरमा दुई सय २६ जना महिला दिदीबहिनीहरुको भिआईए परिक्षण गरी पाठेघरको मुखको जाँच गरिएको छ । सो परिक्षण गरिकाहरुमध्ये १७ जना आङ खसेका महिलाहरुको रिङ प्रेसरी राखिएको नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रिय अध्यक्ष लोकन्द्रकुमार श्रेष्ठ (इश्वर) ले जानकारी दिए ।
यस्तैगरी सो शिविरमा एक सय ५३ जना पुरुषहरुको पनि सामान्य क्यान्सर सम्बन्धी परिक्षण गरिएको थियो । शिविरमा भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. प्रभु शाह, स्त्री रोग विशेषज्ञ डा. उषा बादे श्रेष्ठ र डा. मुना कार्कीलगायत १८ जना टोलीले परिक्षण गरेका थिए ।
शिविरको प्रमुख अतिथि पूर्वमन्त्री सुनिलबहादुर थापाले उद्घाटन गर्दै भक्तपुरदेखि आएर धनकुटाका विभिन्न स्थानहरुमा निःशुल्क शिविर गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि यसरी नै शिविर सञ्चालन गर्न आग्रह गरे । उनले महंगो उपचार खर्च लाग्ने क्यान्सर रोगको समयमै परिक्षण गरेर रोग भए नभएको पत्ता लगाउन सके थोरै रकममा उपचार गर्न सकिने भन्दै शिविरमा परिक्षण गराउन अनुरोध गरे । उनले स्व. सूर्यबहादुर थापा प्रतिष्ठानबाट धनकुटेली जनताको स्वास्थ्य सेवाका लागि आगामी दिनमा यस्ता शिविरहरु सञ्चालन गर्ने जानकारी दिए ।
यस्तै विशेष अतिथि नेपाली कांग्रेसका युवा नेता तथा पूर्व सांसद रामहरी खतिवडाले अघिल्लो सरकारले क्यान्सर रोग पीडितहरुलाई पाँच हजार दिने गरेको निर्णय यो सरकारले लागू नगरेको भन्दै विरोध जनाए । उनले क्यान्सर रोग उपचार खर्चिलो भएकोले रोगीलाई केहि राहत होस् भनेर अघिल्लो सरकारले मासिक पाँच हजार उपलब्ध गराउने निर्णय यथाशीघ्र कार्यान्वयन गरी उपलब्ध गराउन आग्रहसमेत गरे ।
यस्तै कार्यक्रममा विशेष अतिथि नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रिय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (ईश्वर) ले अहिले रासायनिकयुक्त खानपान क्यान्सरको कारक भएको बताउँदै खानपान तथा आहार विहारमा ध्यान दिन आग्रअ गरे । उनले विशेष गरी महिलाहरुमा हुने पाठेघरको क्यान्सर अज्ञानता र लाजले समयमै नजचाउनाले हुने बताए ।
अध्यक्ष श्रेष्ठले नेपाल सरकारले विपन्न नागरिकहरुलाई एक लाख दिदैँ आइरहेकोमा त्यसलाई बढाएर तीन लाख पु¥याउने कोसिस भइरहेको जानकारी दिए । उनले सरकारले अघिल्लो वर्ष ल्याएको ४५ करोड जति मूल्य पर्ने अत्याधुनिक मेसिन क्यान्सर रोगको उपचारका निमित्त प्रयोग नगरी थन्काएकोमा दुःख व्यक्त गरे ।
सो अवसरमा वडाध्यक्ष निरेन तामाङले यस्ता शिविरले समयमा नै रोग लागे नलागेको जानकारी हुने हुनाले उपचारका लागि सहज हुने बताए । कार्यक्रम हिले ब्याडमिन्टन क्लबका अध्यक्ष राम तामाङको सभापतित्वमा भएको थियो ।
यसअघि सो शिविर मूलघाटस्थित धार्मिकस्थल विश्रान्ती, छथर जोरपाटीको सिधुवा, धनकुटा वडा नं. ३ कागते र धनकुटा अस्पतालमा परिक्षण गरिसकेको संस्थाका जिल्ला अध्यक्ष नारायणप्रसाद रिजालले जानकारी दिए ।
नेपाल अर्बुद रोग निवारण संस्थाको आयोजनामा सम्पन्न सो शिविरको स्थानीय आयोजक हिले ब्याडमिन्टन क्लव रहेको छ । यस्तै सहयोगी संस्थाहरुमा धनकुटा नगरपालिका वडा नं. १ र हिले पोलिक्लिनिक रहेका छन् ।