धनकुटा । धनकुटामा सम्पन्न प्रदेश नम्बर १ स्तरीय महिला भलिबल प्रतियोगितको विजयी संखुवासभा भएका छन् । प्रतियोगिताको फाइनल खेलमा सोझो सेटमा सुनसरीलाइृ हराउँदै संखुवासभा प्रदेश च्याम्पियन भएका छन् । फाईनल प्रतियोगितामा संखुवासभाले सुनसरीलाई २५–१७, २५–१७ र २५–१६ को सोझो सेटमा पराजित गरेका थिए । संखुवासभाले भोजपुरलाई र सुनसरीले झापालाई हराउँदै फाईनल पुगेका थिए ।
सामाजिक विकास मन्त्रालयको आयोजनामा सम्पन्न भएको सो प्रतियोगिताको उपाधीसँगै विजयी संखुवासभाले नगद एक लाखसहित कप, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । यस्तै सुनसरी पराजित भएसँगै उपविजेतामा चित्त बुझाउन वाध्य भएका छन् । उपविजेता सुनसरीले नगद ५० हजारसहित कप, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ ।
बिजेता तथा उपविजेता टीमलाई प्रमुख अतिथि प्रदेशसभाका सदस्यहरु इन्द्रमणी पराजुली, कुसुमकुमारी श्रेष्ठ, बलबहादुर लिम्बु, होमकुमारी साँवा, जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुवान, स्थानीय व्यवस्थापन समितिका संयोजक तारा तितुङ्गलगायतले पुरस्कार वितरण गरेका थिए । खेलमा विभिन्न विधामा उत्कृष्ट ५ जनालाई नगद सहित पुरस्कार वितरण गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथि सांसद इन्द्रमणि पराजुलीले खेलले विश्वमा देशको प्रचार गर्न सहयोग गर्ने बताए । उनले खेलले खेलाडीलाई स्वस्थ्य रहन पनि मद्दत गर्ने भएको उल्लेख गर्दै व्यावसायिक रुपमा खेललाई लिन अनुरोध गरे । यस्तै प्रदेश सांसद कुसुमकुमारी श्रेष्ठले प्रदेश सरकारले खेलेर नै जीवन निर्वाह हुनसक्ने गरी व्यवस्था गर्ने तयारी गरिरहेको जानकारी दिईन । सो अवसरमा पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले खेल खेल्दा आफ्नो जन्मभूमिलाई शिरमा राखेर प्रतिस्पर्धा गर्न आग्रह गरे ।
समापन कार्यक्रममा संयोजक तारा तितुङ्गले अतिथि, निर्णायक, व्यवस्थापकहरुलाई मायाको चिनो प्रदान गरेका थिए । प्रतियोगितामा प्रदेश नं. १ का ११ जिल्लाले सहभागी जनाएको प्रचार प्रसार समितिका संयोजक विजय घिमिरेले जानकारी दिए ।
प्रतियोगिता स्थानीय व्यवस्थापन समितिका संयोजक तारा तितुङ्गको अध्यक्षतमा सम्पन्न्न भएको थियो । सदस्य गीता खेवाले स्वागत मन्तव्य राखेको समापन कार्यक्रमको संचालन कला राईले गरेका थिए । स्थानीय व्यस्थापन समितिका सदस्यहरु प्रमिसा श्रेष्ठ, सावित्रा बान्तवा र मञ्जु आर्चायले अथितिहरुलाई खादा लगाई स्वागत गरेका थिए ।