धनकुटा, २२ बैशाख । धनकुटाको चौविसे गाउँपालिकाको छ नं. बुधवारेमा प्रदेश नम्बर १ स्तरीय पुरुष भलिबल प्रतियोगित सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालयको आयोजनामा आज सम्पन्न भएको फाइनल झापाले भाजेपुरलाइृ हराउँदै उपाधी हात पारेका हुन् । विजेता बनेसँगै झापाले नगद एक लाख सहित कप, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । यस्तै उपविजेतामा चित्त बुझाएका भोजपुरले नगद ५० हजार सहित कप, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । यस्तै धनकुटालाई पराजित गर्दै ओखलढुङ्गा तेस्रो भएका छन् । तेस्रो भएका ओखलढुङ्गाले १० हजार नगद सहित कप, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । तेस्रोस्थानका लागि चौविसे गाउँपालिका वडा नं १ वडासमितिले नगद प्रायोजन गरेका थिए ।
प्रदेश सभाका सांसद निरन राईको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा सांसद राईले प्रदेश सरकारले खेलाडीलाई जीवन निर्वाह हुने गरी व्यावसायिक खेलको विकास गर्ने तयारी गरिरहेको बताए ।
खेलमा विभिन्न विधामा उत्कृष्ट ५ जनालाई नगद सहित पुरस्कार वितरण गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भोगेन्द्र थापाले जानकारी दिए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भोगेन्द्र थापाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा चौविसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले मन्तव्य दिएका थिए । प्रतियोगितामा प्रदेश नं. १ का ११ जिल्लाले सहभागी जनाएको अध्यक्ष थापाले जानकारी दिए ।