धनकुटा । जिल्लाको छथरजोरपाटी गाउँपालिका स्थित सिँधुवा खेल मैदानमा संचालन भइरहेको ‘छथर जोरपाटी कप–२०७६’ फुटबल प्रतियोगितामा चौविसे गाउँपालिका, साँगुरीगढी गाउँपालिका र धनकुटा नगरपालिका सेमिफाइनलमा पुगेका छन् ।
विहिवार सम्पन्न खेलमा विजयी हुँदै तीन टोली सेमिफाइनमा पुगेका हुन् । वुधवार सम्पन्न खेलमा विजयी हुँदै छथरजोरपाटीको ‘ए’ टिम यस अघि नै सेमिफाइनलमा पुगिसकेको छ ।
विहिवार सम्पन्न पहिलो खेलमा चौविसे गाउँपालिकाले सहिदभूमि गाउँपालिकालाई फराकिलो गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुग्न सफल भयो । सो खेलमा चौविसेले सहिदभूमि माथि ६–० गोल अन्तरले पराजित गरेको थियो । उक्त खेलको म्यान अफ दी म्याच विजयी चौविसेका दिलेन लिम्बु घोषित भए ।
त्यस्तै दोस्रो खेलमा साँगुरीगढी गाउँपालिकाले महालक्ष्मी गाउँपालिकालाई ४–१ गोलअन्तरले पराजित गरेको थियो । आजको खेल जित्दै साँगुरीगढी गाउँपालिका पनि सेमिफाइनलमा प्रवेश गरेको छ । सो खेलको म्यान अफ दी म्याच विपिन लिम्बु घोषित भएका थिए ।
विहिवार सम्पन्न अन्तिम खेलमा धनकुटा नगरपालिकाले आयोजक छथरजोरपाटी गाउँपालिकाको ‘बि’ टिमलाई ट्राईब्रेकरमा पराजित गर्दै सेमिफाइनल पुग्न सफल भयो । निर्धारित समय भित्र दुबै टिमको खेल एक÷एक गोल भएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो ।
ट्राइब्रेकरमा आयोजक टिम विरुद्ध ५–४ गोलअन्तरले विजयी हुँदै धनकुटा नगरपालिका सेमिफाइनल पुग्ने अन्तिम टोली वन्न सफल भयो । सो खेलको म्यान अफ दी म्याच धनकुटा नगरपालिकाका गोलकिपर विजय मल्लिक घोषित भए ।
शुक्रवार सेमिफाइनलका दुई खेल सञ्चालन हुनेछन् । पहिलो खेलमा साँगुरीगढी गाउँपालिकाले छथरजोरपाटी गाउँपालिकाको ‘ए’ टीमसँग र धनकुटा नगरपालिकाले चौविसे गाउँपालिका सँग प्रतिस्पर्धा गर्ने आयोजक समितिका सचिव दिवश खड्काले बताए ।
छथरजोरपाटी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको सो प्रतियोगिताका प्रायोजक छथरजोरपाटी गाउँपालिका रहेको छ । भने प्राविधिक सहयोग जिल्ला फुटवल संघ धनकुटाले गरेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयासँगै ट्रफी हात पार्नेछ भने उपविजेताले ५० हजार र ट्रफि पाउने बताइएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको फाइनल खेल जेष्ठ ३२ गते अर्थात शनिवार हुनेछ ।