धनकुटा ३ असार ।
सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयेक फिर्ता लिन माग गर्दै नेपाल पत्रकार महासंघले तेस्रोचरणका आनदोलन शुरु गरेको छ । यहि क्रममा धनकुटाले पनि आज हस्ताक्षर अभियान शुरु गरेको छ ।
आन्दोलनअन्र्तगत आज जिल्ला शाखा धनकुटाले मदन चौकबाट हस्ताक्षर अभियान शुरु गरी चुवाको बोटसम्म पुगेका छन् । र, त्यहाँ हस्ताक्षर पुस्तिका तथा व्यानर राखी सरकारसँग मिडिया काउन्सिल विधेयक फिर्ता गर्न माग गर्दै प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर अभियान संचालन गरेको हो ।
हस्ताक्षर अभियानको शुभारम्भ नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष नगेन्द्र राईले गरेका थिए । सो अवसरमा उनले सरकारले गुठी विधेयक जनदवावले फिर्ता लिएको स्मरण गराउँदै यो विधेयक पनि आन्दोलनको शक्तिबाट फिर्ता गर्न वाध्य पार्नुपर्ने बताए ।
यस्तै सो अवसरमा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष तथा पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष विजयसन्तोषी राईले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी भएकोले यसलाई सशक्त आन्दोलनमार्फत सरकारलाई फिर्ता गराउन वाध्य बनाउनु पर्ने बताए । पत्रकार महासंघका कावा अध्यक्ष नगेन्द्र राईको अध्यक्षतमा भएको हस्ताक्षर अभियान कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष संजयसन्तोषी राई, पत्रकार महासंघ प्रदेश सदस्य सन्तोष रुचाल, पत्रकार महासंघका पूर्व अध्यक्ष खगेन्द्रप्रसाद घिमिरे, पत्रकारहरु विनोद घिमिरे, कविराज घिमिरे, प्रेस युनियनका सचिव विकास घिमिरे, प्रेस संगठनका ईश्वर थापा, फोनिजका अध्यक्ष सन्तबीर लामा, रेडियो भेडेटारका स्टेशन मेनेजर पूर्णकुमार चौधरीलगायत थिए । यो अभियानलाई स्थानीयवासीले पनि समर्थन गर्दै हस्ताक्षर गरिरहेका छन् ।
यो हस्ताक्षर आगामी असार ६ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई पठाइने पत्रकार महासंघका सचिव विदुर खवासले जानकारी दिए ।