खगेन्द्रप्रसाद घिमिरे
८ साउन, धनकुटा । धनकुटा नगरपालिका वडा नं. ८ का तीन जनालाई ३ दिनदेखि बेपत्ता छन् । उनीहरुलाई तमोर नदीले बगाएर बेपत्ता बनाएको प्रहरीले आशंका जनाएको छ ।
धनकुटा नगरापालिका ८ याक्चनाका शंखबहादुर राईका ९ बर्षिय छोरा सञ्जीव राई, ७ बर्षिया छोरी सलिना राई र ६ बर्षिया छोरी सञ्जीला राई गत आईतबारदेखि बेपत्ता थिए । उनीहरु आफन्तकहाँ गए कि भनेर उनीहरुका पिता शंखबहादुरले तत्काल प्रहरीलाई जानकारी गराएनन् । शंखबहादुरले पहिले आफन्त कहाँ खोजी गरे । तर, कहिँ भेटेनन् ।उनीहरु तमोर नदीमा कहिलेकाहिँ पौडि खेल्न गईरहने भएकाले ३ दिन वितिसक्दा पनि घर नआएपछि तमोर नदीले बगाएको हो कि भनेर आशंकाले प्रहरीलाई खवर गरेका हुन् ।
आईतबार दिउँसो बाबुआमा खेतमा काम गर्न गएपछि उनीहरु तमोर नदीमा पौडि खेल्न गएका परिवारको अनुमान रहेको छ । परिवारले आफन्त एवं नदीमा खोजी गरेपनि पत्ता नलागेपछि प्रहरीलाई खबर गरेका हुन् । आज बुधबार विहान जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदर्शन कोईरालाले जानकारी दिए । उनीहरुको खोजीका लागि तमोर नदी क्षेत्र मुलघाट र त्रिवेणी प्रहरी चौकिका प्रहरीलाई परिचालन गरिएको प्रहरी उपरीक्षक कोईरालाले जानकारी दिए ।
अहिले बर्षाद्को मौसममा तमोर नदीको बहाव बाढी आएर उच्च भएकाले अवोध बालबालिकाहरुले थाहाँ नभएर पौडि खेल्न जादाँ बगाएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।