धनकुटा । संविधान दिवसको अघिल्ला दिन धनकुटा नगरपालिकाले बजारमा सरसफाई गरेको छ । यस्तै धनकुटा अस्पतालका विरामीहरुलाई धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा फलफुल वितरण गरियो ।
संविधान दिवस आयोजक मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख टंक चुवानले विरामीलाई फलफुल वितरण गरेर शुभारम्भ गरेका थिए । विरामीहरुलाई धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला बस्नेत, प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा, उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, उपाध्यक्ष तारा तितुङलगायत नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, विभिन्न कार्यालयका प्रमुखहरु, कर्मचारीहरुको उपस्थिति रहेको उद्योग वाणिज्य संघका कार्यकारी सचिव जयन्द्र प्रधानले जानकारी दिए ।
यसैगरी भोली संविधान दिवसको अवसरमा दिनको ११ वजे सहिद भिमनारायण चोकमा भेला भई त्रिवेणी माविसम्म प्रभातफेरी हुने संयोजक टंक चुवानले जानकारी दिए । सो कार्यक्रममा सबैलाई सहभागी भई संविधान दिवस भव्यताका साथ मनाउन संयोजक चुवानले आव्हान गरे ।
त्रिवेणी माविमा आयोजना हुने कोणसभामा हाम्रो बहुमखी पाठशालाका कलाकारहरुको सांस्कृतिक कार्यक्रम रहने पाठशाशालाका सरोज भूजेलले जानकारी दिए ।
यसैगरी अन्तिम दिन नेपाल नेत्रज्योति संघको आयोजनामा कारागारका कैदीबन्दीहरुका लागि आँखा जाचँ गरिने संघका अध्यक्ष द्रोण गुरागाईले जानकारी दिए ।