खगेन्द्रप्रसाद घिमिरे
धनकुटा । धनकुटा नगरपालिकाभित्रका ८६ बर्ष भन्दा माथिका सात जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । विश्व ज्येष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ नागरिक संघ धनकुटा नगर समितिको आयोजनामा विजयदशमीको शुभकामना आदानप्रदान गर्दै सो सम्मान गरिएको थियो । सम्मानित ज्येष्ठ नागरिकहरुलाई प्रमुख अतिथि नगर प्रमुख चिन्तन तामाङ, विशिष्ट अतिथिहरु प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे, प्रहरी उपरीक्षक सुदर्शन कोईराला, ज्येष्ठ नागरिक संघका जिल्ला अध्यक्ष रामबहादुर श्रेष्ठ, नागरिक समाजको अध्यक्ष द्रोण गुरागाईलगायतले दोसल्ला एवं नगद पाँच सय रुपैयाँ नगदसहित सम्मान गरेका थिए ।
यसरी सम्मानित हुनेहरुमा वडा नं.४ का ९१ बर्षिय देवी दाहाल, वडा नं. ५ का भद्रमान घले, वडा नं. ६ का ८९ बर्षिय रामबहादुर श्रेष्ठ, वडा नं ७ का ९३ बर्षिय निरे मगर, वडा नं. १० का ८६ बर्षिय विष्णुमाया अधिकारी रहेका छन् । यस्तै धनकुटा नगर भरीका सबैभन्दा ज्येष्ठ नागरिक ९५ बर्षिय बुद्धिमान डंगोललाई पनि सम्मान गरिएको छ ।
सो अवसरमा प्रमुख अतिथि नगरप्रमुख तामाङले ज्येष्ठ नागरिक भनेका भगवान सरह हुन् । उहाँहरुको सेवा गर्नु भनेको भगवानको सेवा गर्नु जस्तै रहेको बताए । उनले ज्येष्ठ नागरिक हाम्रो समाज परिर्वन गर्नुहुने परिपक्क र अनुभवले भरिपूर्ण व्यक्ति भएकाले हामीले उहाँहरुबाट सुझाब, सल्लाह र मार्गनिर्देशन लिनसक्नु पर्ने बताए । उनले ज्येष्ठ नागरिकहरुको सेवासुविधाका लागि नगरपालिका जस्तोसुकै सहयोग गर्न तत्पर रहेको आश्वासन दिए ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले बुढेसकालमा एक्लोपन हुनेहुनाले यस्ता संस्था आपसी सुखदुखका कुरा गर्ने थलो भएको बताए । उनले ज्येष्ठ नागरिक अनुभवले खारिएको हुनेहुनाले उहाँहरुको अनुभव नयाँ पुस्ताले ग्रहण गर्न सके देशको विकासमा थप टेवा पुग्ने बताए । उनले यस्ता कार्यको निरन्तरता दिन आग्रह गर्दै आफुले सकेको सहयोग गर्ने प्रतिवद्धतासमेत जाहेर गरे ।
सो अवसरमा नगर संघका अध्यक्ष टिकाप्रसाद घिमिरेले अहिलेका पुस्ताले नबुझेका कारण ज्येष्ठ नागरिक पारिवारिक हेलामा बाँच्न बाध्य भएको बताए । कार्यक्रममा ज्येष्ठ नागरिक, समाजसेवी, पत्रकार, नागरिक समाज, नागरिक समाजका अगुवालगायतको सहभागिता रहेको थियो । नगर संघको अध्यक्ष टिकाप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघ वडा नं. ७ का अध्यक्ष बुद्धिकान्त घिमिरेले गरेका थिए ।