धनकुटा, १६ पुष । सहिद रिदामाहाङ्ग रामालिहाङ्ग आठपहरिया प्रथम महिला गोल्डकप फुटल प्रतियोगिताको फाईनलमा एपीएफ क्लव पुगेको छ । एपीएफले सेमिफाईनलमा नेपाल पुलिस क्लवलाई एकका विरुद्ध २ गोल गर्दै फाईनलमा पुगेको हो ।
आज भएको पहिलो सेमिफाईनलमा खेलको मध्यान्तर अघि एपीएफकी एन्जीला तुम्बाहाम्फेले हेडमार्फत आफ्नो गोलरक्षकलाई पास दिदा सुसाईट गोल हुन पुगेको थियो । नेपाल पुलिसको लागि गोलको खाता प्रतिपक्षी एपीएफले नै खोलिदिएको थियो । नेपाल पुलिसकि अमृता जैसीको प्रहारलाई बचाउने क्रममा सो गोल हुन गएको थियो ।
पहिलो हाफमा नेपाल पुलिसले १ गोलको अग्रता लिएपनि दोस्रो हाफको पहिलो मिनेटमै एपीएफकी अनिता बस्नेतले गोल गर्न सफल भईन् । निकै प्रतिस्पर्धात्म बनेको खेलको दोस्रो हाफको पहिलो मिनेटमै एपीएफकी सावित्रा भण्डारीको पासमा अनिता बस्नेतले गोल गरी खेल बराबरीमा पुगेको थियो ।
दोस्रो गोल सावित्रा भण्डारीले खेलको ७० औं मिनेटमा गरेकि थिईन् । मैदानको मध्यभागबाट पुलिसका रक्षकलाई छक्याउँदै भण्डारीले एक्दै लगेर विपक्षीको पोष्टमा जाली चुमाए पछि खेल १ को विरुद्ध २ गोलले एपीएफले अग्रता लिए ।
खेलको ओमेन अफ दी म्याच एपीएफकी अनिता बस्नेत भईन । भोली विहीवार हुने दोस्रो सेमिफाईनल त्रिभूवन आर्मी र रौतहट फुटबल क्लब वीच हुने अयोजक समितिका सुरेन्द्र आठपहरियाले जानकारी दिए । भोली हुने सेमिफाईनलका विजेतासँग पर्सी शुक्रवार फाईनल खेल हुने छ ।
किरात आठपहरिया समाजको आयोजनामा भएको प्रतियोगिताका विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्ने आयोजक समितिका संयोजक सन्देश आठपहरियाले जानकारी दिए ।